राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले लकडाउनयता ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । चैत ११ देखि सरकारले लकडाउन गरेयता नियमित उडान बन्द भए पनि निगमले चार्टर र कार्गाे उडानमार्फत ५२ करोड रुपैयाँ आम्दानी गरेको हो । निगमका एक अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो उडान समेतको आम्दानी गरेर सोमबारसम्म ५२ करोड रुपैयाँ आर्जन गरेको छ । यसमा स्वास्थ्य उपकरण खरीद प्रकरणमा मुछिएको विवादास्पद ओम्नी समूहले चीनका लागि चार्टर गरेको भाडावापत करिब १ करोड ८५ लाख रुपैयाँ भने असुल हुन बाँकी रहेको छ ।
निगमले लकडाउनपछि सोमबारसम्म १५ यात्रुवाहक चार्टरमा उडान तथा ९ वटा कार्गो उडान गरेको छ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्न अन्तर्राष्ट्रियतर्फका उडान चैत ९ र आन्तरिकतर्फ चैत ११ गतेदेखि रोक लगाएको छ । सरकारले लगाएको प्रतिबन्ध आन्तरिकमा जेठ मसान्सम्म र अन्तर्राष्ट्रिय उडानमा असार १६ गतेसम्म कायम रहने जनाइएको छ । निगमका एयरबस–३३० का दुई र एयरबस–३२० का दुई गरी कुल ४ विमानले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।
१० हजार वाहिरिए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउन अवधिमा कुल १ सय १२ चार्टर तथा कार्गाे उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । यसबाट करिब १० हजारको संख्यामा नेपाली तथा विदेशी नागरिक बाहिरिएको र २१० को संख्यामा नेपाली ताथ विदेशी नागरिक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको छ । नागरिक उड्डयन प्राधिकरणले कार्गाे तथा उद्धारका लागि चार्टर उडानमा विगतमा अनुमति प्रदान गरिरहेको भए पनि ट्राभल एजेन्सीले मनलाग्दी भाडा असुल्न थालेसँगै कुटनीतिक माध्यवबाहेक अन्य उडानमा रोक लगाएको छ । नेपालबाट र विदेशबाट नेपालमा हुने चार्टर उडानमा विमान कम्पनी र ट्राभल एजेन्सीले तोकिएभन्दा बढी भाडादर कायम गरी उडान भर्ने क्रम बढेसँगै शनिबार प्राधिकरणले मातहतका निकायलाई सूचना प्रेषित गर्दै कुटनीतिक च्यानल बाहेकका उडानमा रोक लगाएको थियो ।
प्राधिकरणका एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेलद्वारा जारी गरिएको सूचनामा भनिएको छ, “अन्तर्राष्ट्रिय उडानका लागि कुटनीतिक पहलबाट हुने उडानबाहेक अन्य व्यावसायिक उडान अनुमतिमा रोक लगाइएको छ ।” ट्राभल एजेन्सी र विमान कम्पनीले सरकारलाई भ्रममा पारेर चार्टर उडान गर्ने गरेको पाइएसँगै प्राधिकरणले अन्य व्यावसायिक उडानमा रोक लगाएको हो ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।