सरकारले मुल्य स्थायित्व कायम गर्ने भनि पटकपटक घोषणा गरिरहँदा पनि मूल्यवृद्धिदरमा कमी आउन सकेको छैन । २०७३ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ११.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.४ प्रतिशत मात्रै थियो । खाद्य तथा पेय पदार्थ दुवै समूहको मूल्य वृद्धि दोहोरो अंकमा रहेकोले समीक्षा अवधिमा मुद्रास्फीति दर उच्च रहन गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको सूचकाङ्क ११.९ प्रतिशतले र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क १०.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
तरकारी, दलहन तथा गेडागुडी, मदिराजन्य पेय पदार्थ, लत्ता कपडा तथा जुत्ता समूहको मूल्य सूचकाङ्क वृद्धिदर उच्च रहेकाले वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा थप चाप पर्न गएको हो । समीक्षा अवधिमा तरकारीको मूल्य २९.४ प्रतिशत र दलहन तथा गेडागुडीको मूल्य २१.५ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६.४ प्रतिशत र १५.९ प्रतिशतले बढेको छ ।
मूल्यवृद्धि : उपत्यकामा बढी
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा १३ प्रतिशत, पहाडमा १२ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र तराईमा ९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ७.८ प्रतिशत, पहाडमा ८ प्रतिशत र तराईमा ६.७ प्रतिशत रहेको थियो ।
यद्यपि, २०७३ को जेठ महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । नेपालको मुद्रास्फीति भने निरन्तर उच्च रहँदै ११.१ प्रतिशत पुगेको छ । यस आधारमा हेर्दा, नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति अन्तर ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७.४ प्रतिशत र ५.४ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७२÷७३ को जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १०.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.४ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.२ प्रतिशतले घटेको थियो ।
तलब र ज्याला वृद्धिदर भने घट्दो क्रममा
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर भने ५ प्रतिशतले मात्रै बढेको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ७.५ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा तलब ०.८ प्रतिशत र ज्यालादर ६ प्रतिशतले बढेको छ । जसमध्ये, बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरूको तलब क्रमशः २.३ प्रतिशत, १.५ प्रतिशत र ०.७ प्रतिशतले बढेको छ भने ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर क्रमशः ११.१ प्रतिशत, ५.७ प्रतिशत र ५ प्रतिशतले बढेको छ ।