संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि कोरोना बीमा स्थगित

बैंकिङ खबर । कोरोनाको जोखिम न्युनिकरण तथा सुरक्षण गर्न ल्याइएको कोरोना बीमा कार्यक्रम स्थगित भएको छ । व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बीमा समितिले सहमति जनाएको हो । समितिको निर्देशन अनुसार आज शुक्रबारदेखि केही समयका लागि कोरोना बीमा स्थगीत भएको छ । विश्वभर कोरोनाका संक्रमितहरु बढिरहेको र त्यसको प्रभाव नेपालमा पनि बढ्दै गएपछि बीमा कम्पनीले पुनर्बिमा पनि गर्न नसक्ने र आफ्नो आम्दानीबाट मात्र भुक्तानी गर्न नसक्ने अवस्था आएपछि समितिले रोक लगाएको हो ।
कोरोना बीमाका लागि नेपाली नागरिक, परिवार एवं संस्थाले व्यक्तिगत अथवा सामूहिक बीमा गर्न सक्ने व्यवस्था थियो । बीमा पोलिसी खरिद गरेको १५ दिनपछि एक वर्षसम्म कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बीमा दाबी गर्न सकिने पोलीसी रहेको थियो । यसमा पहिलो बिमा लेख एक लाख रुपैयाँको रहेको र यस पोलिसी खरिद गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्न व्यवस्था थियो । परिवार वा संस्थागत रूपमा बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने, यस्तै, दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको जनाइएको थियो । यस बीमा लेख खरिद गर्न प्रतिव्यक्ति पाँच सय रुपैयाँ र परिवार वा संस्थागत रूपमा बिमा गर्दा प्रतिव्यक्ति तीन सय रुपैयाँ लाग्ने व्यवस्था थियो । यसमा अस्पतालबाट कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै दाबी भुक्तानी पाइने जनाइएको थियो ।