June 4th, 2020

कोरोना बिमाको मोडालिटी परिमार्जन गरिँदै

बिमा गर्नेको संख्या तीन लाख पुग्यो
बिमा शुल्कमार्फत सवा १६ करोड रुपैयाँ संकलन

कोभिड–१९ को जोखिम सुरक्षणका लागि ल्याइएको कोरोना बिमाको विधि तथा प्रक्रिया (मोडालिटी) परिमार्जन गरिने भएको छ । कोरोना बिमा गर्नेको संख्या हरेक दिन उच्च दरले बढिरहेका बेला उक्त बिमालेखको मोडालिटी परिमार्जन गर्न लागिएको हो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत एक लाख रुपैयाँसम्मको सामूहिक कोरोना बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिने तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतको बिमा शुल्क सरकारले बेहोर्ने व्यवस्था घोषणा गरेकाले सोहीअनुसार बिमालेख पनि परिमार्जन गरिने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘नयाँ मोडालिटी कस्तो हुने भन्ने विषय सरकारको निर्देशनमा भर पर्नेछ,’ उनले भने, ‘सरकारी घोषणासँग समावेश गर्नुपर्ने भएकाले निर्देशन पर्खिनुपरेको हो ।’

पछिल्ला दिनमा कोरोना बिरामी संख्या थपिएसँगै यसमा आकर्षण निकै बढेको छ । यसले बिमा कम्पनी र पुनर्बिमाको दायित्व पनि बढाएको छ । ‘अहिलेकै अवस्थामा कोरोना बिमामा कम्पनीको दायित्व उनीहरूको पुँजीभन्दा धेरै भइसकेको छ,’ उनले भने, ‘बिमितको संख्या निरन्तर बढ्दो छ, यसकारण जोखिम दायित्व पनि झन् बढ्छ ।’ कम्पनीहरूको जोखिम सुरक्षणका लागि विदेशी पुनर्बिमा कम्पनीको खोजी भइरहेको उनले बताए । ‘अब के–कसरी अघि बढ्ने भन्ने सन्दर्भमा बिमक संघसँग छलफल गरिरहेका छौं,’ उनले भने । आन्तरिक रूपमा मोडालिटीबारे छलफल भए पनि बिमा गर्ने काम नरोकिने पौडेलको भनाइ छ ।

पछिल्लो समय मंगलबारसम्म करिब ३ लाख नेपालीले कोरोना बिमा गरेका छन् । कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री सुरु गरिएको हो । हालसम्म २ लाख ९६ हजार ६ सय १६ जनाले कोरोना बिमा गरेका छन् । उक्त बिमामा १६ करोड २२ लाख ३७ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा २५ हजार ४ सय ५० वटा बिमालेख बिक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले बिमालेख बिक्री गरिरहेका छन् ।

निर्जीवन बिमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ५८ हजार ४ सय ३२ जनाको ३ करोड २४ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको छ । सबैभन्दा कम राष्ट्रिय बिमा कम्पनीबाट ३ हजार जनाको १६ लाख रुपैयाँ बिमा भएको समितिको तथ्यांक छ ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर सामूहिक रूपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ । ५० हजार रुपैयाँ बिमांकका लागि बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचर ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]