June 4th, 2020

गभर्नरज्यू, मैले आत्महत्या गरेँ भने बैंकको ऋण तिर्न पर्ला कि नपर्ला ?

श्रीमान् गभर्नरज्यू
नेपाल राष्ट्र बैंक

विषय : बैंकको किस्ता भुक्तानी बारे ।

महोदय,
उपरोक्त सम्बन्धमा सन्सारभरी कोरोना महामारीका कारण निकै ठुलो समस्या उत्पन्न भएको यहाँलाई अबगत नै छ । सोही अनुसार कोरोना नियन्त्रणका लागि सरकारले लामो समयदेखि लकडाउन जारी राखेको छ । गाउँ छोडेर काठमाडौंमा २० बर्षदेखि डेरामा बस्दै आएको छु । मैले गाउँको जग्गा बेचेर काठमाडौंको छेउँमा सानो घडेरी लिएको थिएँ । हाल सोही सानो घडेरी बैंकमा धितो राखेर बैंकबाट बल्ल बल्ल ५० लाख ऋण लिएर काठमाडौंमा सानो रेष्टुरेन्ट संचालन गर्ने व्यक्ति हुँ । लकडाउन हुनुभन्दा ठिक २ महिना अगाडि हिम्मत र साहस बोकेर सुरु गरेको मेरो रेष्टुरेन्टले मासीक ५ लाखको हाराहारीमा आम्दानी गर्दै आएको थियो । त्यममध्ये करिव १ लाख स्टाफ खर्च, दुईलाख घरभाडा, सामान खरिदको करिव ७० हजार बुझाउँदै आएको थिएँ । त्यसबाट बँचेको करिव एकलाख ३० हजारबाट ७० हजार बैंकको व्याज बुझाएर बाँकी रहेको ६० हजार मेरो बचत आम्दानी थियो । जुन रकमबाट घरखर्च चलाउँदै आएको थिएँ । करीव ३ महिनादेखि लकडाउनका कारण रेष्टुरेन्ट पुरै बन्द भयो । सरकारले एक महिनाको घरभाडा तिर्नुपर्दैन भनेको थियो । तर घरधनीले छुट दिन सक्तिन, ३ महिनाको एकैपटक दिनु भनेर भनेका छन् । दुइमहिनासम्म कर्मचारीलाई पनि बल्ल बल्ल पालेको थिएँ । अहिले उनीहरु घर गएका छन् ।

श्रीमान् गभर्नरज्यू ।
अब लकडाउन खुल्छ भन्ने सुनेको छु । लकडाउन खुलेको भोलीपल्टै घरबेलीले ६ लाख रुपैयाँ ठिक्क पार्न भनेका छन् । अनि सुन्दैछु बैंकले पनि ३ महिनाको किस्ता एकैपटक माग्ने हो रे ।  गभर्नर ज्यू । तपाईले भनेपछि बैंकले मान्छन् भन्ने सुनेको कुरा के साँचो हो ? हो भने बैंकलाई ६ महिनापछि किस्ता बुझाउँदा हुन्छ कि भनेर अनुरोध गर्नका लागि यो पत्र लेख्दै छु ।

मेरो समस्याहरु यसप्रकार छन् ।

  •  लकडाउन खुलेपछि रेष्टुरेन्टमा सामान ल्याउनुपर्छ ५० हजार ऋण खोज्नुपर्ने भएको छ ।
  • लकडाउन अवधिभर रासन पानी गरेको किराना पसलललाई ७५ हजारजति ऋण तिर्नु पर्नेछ ।
  • छोराछोरीको स्कूलबाट लकडाउन खुल्नेवित्तकै फिस ल्याउनु भनेर फोन आएको छ ।
  • मसँग कत्ति पनि पैसा छैन ।
  • रेष्टुरेन्ट बिक्रि पनि हुँदैन ।
  • आफू बस्ने कोठा भाडा पनि तिर्न सक्ने अबस्था छैन ।
  • घरीघरी लाग्छ आत्महत्या गरुँ ।
  • यदी आत्महत्या गरेँ भने मेरो परिवारले बैंकको ऋण तिर्न पर्ला कि नपर्ला ?
  • गभर्नर ज्यू, यति भनिसकेपछि यहाँले पक्कै बुझ्नुभएहोला मेरा समस्या । हुन त यी समस्या मेरो लागि मात्रै ठुलो हुन सक्छ । अरुका लागि मेरो समस्या सामान्य हुन सक्छ । कृपया यस्तो बेलामा ६ महिनासम्म बैंकको किस्ता पछाडि सार्दिन भन्नु भयो भने मैले रेष्टुरेन्ट संचालन गरेर कमाएको पैसा बैंकलाई दिने थिएँ । प्लिज गभर्नरज्यू लौन बैंकलाई सम्झइदिनुपर्यो ।
    हजुरको आज्ञाकारी
    कुमार

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]