चिनियाँ कम्पनीले सामान नदिँदा खिम्ती आयोजनाको काम रोकियो

 प्रसारण लाइन निर्माणका लागि प्रयोग हुने सामाग्री नआउँदा उत्पादन तयारी अवस्थामा पुगेको उपल्लो र अपर खिम्ती आयोजनाको १९ मेघावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्ने कार्य अनिश्चित भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चिनीयाँ कम्पनी पिङ्गाओसँग गरेको सम्झौता बमोजिम प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने सामाग्री नआउँदा टावर निर्माणको काम पुरा हुन सकेको छैन । रामेछापको गर्जाङदेखि न्यू खिम्ती सब स्टेशन देविटारसम्मको १ सय ५ वटा विद्युत टावरमध्ये अझै ५५ टावर निर्माण हुन बाँकी छन् । उक्त प्रसारण लाइनको काम बाँकी रहँदासम्म उत्पादित विद्युत केन्द्रीय प्रसारणमा जोड्ने वैकल्पिक व्यवस्था छैन ।

आयोजनाको प्रवर्तक रहेको हिमाल ऊर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक सरोजकुमार उपाध्यायका अनुसार चीनियाँ कम्पनीले सामान नझारेसम्म उक्त टावरहरु निर्माण हुन सक्ने अवस्था छैन । उक्त सामाग्रीहरु महिनौअघि आइसक्नु पर्ने थियो । यसअघि कम्पनीले उपलब्ध गराएको सामाग्रीबाट ५० वटा टावरको काम सम्पन्न भएको उपाध्यायले बताएका छन् ।

२०७७ असारमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उक्त दुवै आयोजनामा लकडाउनको अवधिमा समेत पूर्वाधारको काम भइरहेको छ । ऊर्जा मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा आयोजनाका महत्वपूर्ण काम भइरहेको उनले बताए । ‘पावर हाउसमा मेसिन जोड्ने अवस्थामा पुगेका छौं ,’ उपाध्यायले भने,’अरु काम सकेपनि प्रसारण लाइन सकिएन भने कुनै अर्थ भएन । ‘

उनका अनुसार १२ मेघावाटको उपल्लो खिम्ती र ७ मेघावाटको अपर खिम्ती दुवै आयोजनामा करिब ९८ प्रतिशत काम पुरा भइसकेको छ । आयोजना निर्माणका लागि करिब ३ अर्ब १५ करोड लागत अनुमान गरिएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा पर्ने खिम्ती खोलाको पानी प्रयोग गरी चुचुरेको खारेमा १२ मेघावाटको उपल्लो खिम्ती आयोजना र सो आयोजनाबाट खस्ने पानीलाई पुन प्रयोग गरी जर्गाङ्गमा ७ मेघावाटको अपर खिम्ती आयोजनाको निर्माण गरिएको हो ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।


सोसिअल मेडिया