Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विभागको पत्रबाट व्यवसायी आतंकित, उपप्रधानमन्त्रीकोमा गुहार माग्न पुगे

२०७७ जेष्ठ २१ गते

आन्तरिक राजस्व विभागले कर चुक्ता गर्न उर्दी जारी गरेपछि देशका ठूला व्यापारीहरू गुहार माग्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल समक्ष पुगेका छन् । विभागले जेठ २५ गतेसम्ममा कर तिर्न भनेपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरू सो अव्यवहारिक निर्णयको भत्र्सना गर्दै खारेजीको मागमा जुटेका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक मन्त्री पोखरेललाई भेटेर आफूहरू हालको अवस्थामा कुनै पनि हालतमा कर तिर्न नसक्ने जानकारी गराएको बताए । उनले भने ‘हामीले मन्त्री पोखरेललाई त्यो आदेश फिर्ता लिन पहल गरिदिनु पर्यो भनेका छौं । एकातिर थुनेर राख्ने र अर्कोतिर तुरुन्तै पैसा तिर भन्ने व्यवहार मेल खाएन सुधार्नु पर्यो भन्ने हाम्रो माग हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारको अमिल्दो र व्यापारीलाई समस्यामा पार्ने निर्णय तुरुन्तै फिर्ता गर्नुपर्ने माग गरे । उनले भने ‘हामी अहिले बाहिर निस्कने नै अवस्था छैन, कसरी कर तिर्ने ?’ सरकारले व्यवसायीहरूको समस्या नबुझ्ने  र एकोहोरो पेल्ने नीति अवलम्वन गरेको देखिन्छ ।’ यो कदापि स्वीकार हुन नसक्ने र फिर्ता गर्नै पर्ने कुरामा उनले जोड दिए ।

त्यसैगरी नेपाल कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले विभागको पछिल्लो निर्देशनले व्यवसायीहरूमा आतंक सिर्जना गरेको बताएका छन् । उनले भने ‘यो निर्णय एक प्रतिशत पनि कार्यान्वयन हुन सक्ने अवस्था छैन ।’ उनले आक्रोश व्यक्त गरे ‘लकडाउन थोरै पनि खुकुलो नपार्ने, तुरुन्तै पैसा तिर भन्ने ? हामीले पैसा कहाँबाट ल्याउने ? बैंक खाता रित्तो छ, व्यापार व्यवसाय बन्द छ ।  

विभागले यहि २५ गतेसम्म कर चुक्ता गर्न जारी गरेको सूचनाको विरुद्धमा नेपाल चेम्बर अफ कमर्शले प्रेस विज्ञप्ती नै निकालेर विरोध जनाउने तयारी गरेको छ ।

कर प्रशासनलाई अति कडा बनाउने नीति लिएका अर्थमन्त्रीसँग यस अघि पनि करको विषयमा व्यवसायीहरूले गुनासो राख्दै आएका थिए । जवाफमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘कर भनेको कर हो, करैले तिनुपर्छ’ भनेपछि करको मामिलामा उनीहरू खतिवडासँग कुरा गर्नै छाडेका छन् । त्यसैले अर्थमन्त्री समक्ष गुनासो पोख्न छाडेर व्यापारीहरू उपप्रधानमन्त्रीको शरणमा पुगेका हुन् ।

यसरी सम्बन्धित मन्त्रालय र सरोकारवालाहरूबीच आपसी भरोसा टुट्नुलाई अर्थ क्षेत्रका विश्लेषकहरूले नराम्रो संकेतको रुपमा चित्रण गर्न थालेका छन् । अहिलेको विषम परिस्थिति र अर्थतन्त्र जर्जर बनेको बेला अर्थमन्त्रीले सामान्य अवस्थाको भन्दा पनि एकांकी र अव्यहारिक कदम चाल्न आफू मातहतका निकायहरूलाई प्रेणित गर्नु कुनै पनि दृष्टिले जायज ठहर हुन नसक्ने उनीहरूको विश्लेषण छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदवहादुर कुवँरले सूचना जारी गर्नु आफ्नो बाध्यता भएको बताएका छन् । उनले आर्थिकन्युजसँग भने ‘सधै सरकारले लकडाउन बढाउने निर्णयसँगै कर तिर्ने म्याद समेत थप्दै आएको थियो । यस पटक लकडाउनको म्याद बढाउने विषय गरेको तर, कर तिर्ने म्यादबारे निर्णय मौन बसेको हुँदा हामीले करदातालाई स्मरणमात्रै गराउन खोजेका हौं ।’

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।

Ad