तोकिएको समयमा कर तिर्न सरकारको ताकेता, चेम्बर अफ कमर्स भन्छ बिडम्वनापूर्ण

बैंकिङ खबर । नेपाल चेम्बर अफ कमर्सले आन्तरिक राजश्व विभागले कर विवरण तथा रकम बुझाउने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जेठ २५ गतेसम्ममा कर तिर्न नसक्ने जनाएको छ ।
चेम्बरले कोरोना माहामारीको बिच लामो समयसम्म भएको लकडाउनमा सबै काम ठप्प भएको भन्दै कर तिर्न नसक्ने उल्लेख गरेको हो । सबैं कामहरु ठप्प भएको अवस्थामा बैंकको ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन नसक्ने अवस्था आउदा सरकारले यसै अवधिमा कर तिर्न ताकेता गर्नु बिडम्वनापूर्ण रहेको चेम्बरले जनाएको छ ।
चेम्बरले यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको विवरण र कर रकम लकडाउनको अवधिमा बुझाउने म्याद जारी हुनु आफैंमा बिडम्वनापूर्ण रहेको बताएको हो ।

आन्तरिक राजस्व विभागले जेठ २५ सम्म राजस्व नबुझाएमा अर्को दिनदेखि जरिवाना लाग्ने सूचना जारी गरेपछि चेम्बरले यस्तो बताएको हो ।