June 2nd, 2020

लकडाउनप्रति निजीक्षेत्रको विरोध बढ्दै

लकडाउनका अवधिमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने आवाज उठिरहेको बेला सरकारले यसको अवधि लम्ब्याएपछि निजीक्षेत्रका संघसंगठनहरूले विरोध गर्दै विकल्पमा जान आग्रह गरेका छन् ।

आइतवार नेपाल उद्योग वाणिज्य महासंघले लकडाउन खुकुलो बनाउन माग गरेको थियो । त्यसलगत्तै महासंघसँग आबद्ध संघ तथा अन्य संगठनले पनि लकडाउनको विरोध गरेका छन् । सोमवार नेपाल विज्ञापन संघ, नेपाल विद्युतीय व्यवसायी महासंघ र नेपाल समुद्रपार निकासी पैठारी संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै लगातार गरिएको लकडाउनप्रति आपत्ति व्यक्त गरेका हुन् । लकडाउनका कारण समग्र आर्थिक क्षेत्रमा असर परेकाले सरकारले लकडाउनको समयसीमा र मोडालिटीबारे पुनर्विचार गर्नुपर्ने उनीहरूको माग छ ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । यसअघि जेठ २० गतेसम्म निर्धारित लकडाउनको अवधि बढाएर सरकारले जेठ ३२ गतेसम्म पुर्‍याएको छ । पछिल्लोपटक थपिएको अवधिले व्यवसायी र दैनिक श्रम गरेर बाँच्नुपर्नेहरूलाई आक्रोशित समेत बनाएको छ ।

लकडाउनका कारण आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा क्षेत्र, आमसञ्चार क्षेत्रमा पर्ने असरलाई दृष्टिगत गर्दै लकडाउनबारे पुनर्विचार गर्नुपर्ने नेपाल विज्ञापन संघको माग छ । संघले स्वास्थ्य सुरक्षाका लागि अन्य उपाय खोजेर लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएको छ । उद्योग, व्यवसाय, निरन्तर बन्द गर्दा अर्बौं रुपैयाँ बराबरको लगानी समेत जोखिममा परेको समेत संघले औंल्याएको छ ।

संघले भनेको छ, ‘राज्यको सामु अहिले दुई प्रमुख चुनौती छन्, एक आमसर्वसाधारणको बचाउ र अर्कोतर्फ आर्थिक क्रियाकलाप पुनः सञ्चालन । त्यसका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारवाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मी परिचालन र धेरैभन्दा धेरै परीक्षणको दायरा बढाउनुपर्ने जरुरी छ ।’ आयात–निर्यातकर्ता व्यवसायीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले पनि लकडाउन खुुकुलो गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न दिन माग गरेको छ । संघले सुरक्षाका उपाय अपनाएर लकडाउन खुकुलो बनाउन माग गरेको छ ।

बढ्दो लकडाउनका कारण नेपालमा बेरोजगारीका समस्या बढ्दै गएको छ । रोजगारदाता पनि टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसैले लकडाउनबारे पुनर्विचार गर्न आवश्यक रहेको संघको भनाइ छ । नेपाल विद्युत् व्यवसायी महासंघले पनि लकडाउनबारे गम्भीर रूपमा पुनर्विचार गर्न माग गरेको छ । कोरोना भाइरस नियन्त्रण हुने निश्चित समय किटान नभएको अवस्थामा लकडाउनको मोडालिटी परिवर्तन गर्दै संवेदनशील बाहेकका क्षेत्र खुकुलो पार्दै लैजानुपर्ने महासंघको भनाइ छ ।

‘विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरूबाट न्यून क्षमतामा उत्पादन गरिए तापनि बजार, पसल नखुलेकाले उत्पादित सामग्री उपभोक्ता समक्ष पुर्‍याउन सकिएको छैन,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तो अवस्थालाई दृष्टिगत गर्दै सरकारले विद्युतीय सामग्रीको व्यवसाय सञ्चालन गर्न दिनुपर्ने महासंघको माग छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]