June 2nd, 2020

विद्युतीय सवारीमा कम महसुल : अर्थमन्त्री खतिवडा

 विद्युतीय सवारी साधनमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा भन्सार महसुल कम लगाएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। विद्युतीय सवारीसाधनमा भन्सार महसुल लगाएको भन्दै सरकारको कडा आलोचना भएपछि उनले आफ्नो बचाउ गरेका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै विद्युतीय सवारी साधनलाई ६ भागमा वर्गीकरण गरेर महसुल लगाएको बताए। ‘पहिले सबै प्रकारका विद्युतीय सवारीमा एकैदरको भन्सार महसुल लगाइएको थियो। कमजोर वर्गले उपयोग गर्न सक्ने र उच्च वर्गले प्रयोग गर्नेमा एकै प्रकारको दर थियो। तर, अब त्यसमा पनि ६ वटा वर्गीकरणमा विभाजन गरिएको छ’, उनले भने।

उनका अनुसार वर्गीकरणअनुसार भन्सारका दर परिमार्जन गरिएको हो। ‘तर पनि विद्युतीय सवारीमा निजी सवारी साधनको भन्सार महसुल ५० प्रतिशत र अन्तशुल्कको दर पनि कम छ। महँगा विद्युतीय सवारी साधन आयात गर्दा विद्युत्को खपत त बढाउँला तर विदेशी मुद्रा धेरै खर्च गर्छौ’, उनले भने।

उनले अर्थतन्त्रका सबै पक्षलाई हेर्दा यतिसम्म छुट दिँदा विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन हुने र विदेशी मुद्रामा अस्वभाविक खर्च पनि हुँदैन भन्ने हिसाबले अघि बढ्न खोजिएको बताए।

सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्रोत्साहन गरेको उनले बताए। ‘सार्वजनिक यातायातको प्रणालीमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको प्रतिबद्घता छ। यद्यपि अझै पनि सार्वजनिक सवारी साधनमा विद्युतीय सवारीको संख्या निकै कम छ त्यसलाई पनि प्रोत्साहन गर्नुपर्नेछ। त्यसैले हामीले निजी क्षेत्रलाई अझ धेरै विद्युतीय सवारी साधन ल्याउनका लागि प्रोत्साहन गर्छौ,’ उनले भने।

उनले पेट्रोलियम पदार्थमा बढाएको मूल्यको विषयमा पनि जवाफ दिए। छिमेकी मुलुकसँगको सीमा वारपारका हिसाबले फरक बनाइएको उनको भनाइ छ।

‘सीमा वारपारको मूल्यलाई फरक गर्नका लागि भन्सारका दरमा समायोजन गरिएको हो, तर यसले तत्कालै मूल्य बढ्दैन। आयल निगमले पनि अहिलेकै मूल्यमा बिक्री गर्दा नाफा कमाउन सक्छ। हवाई इन्धनको हकमा १० प्रतिशत पूर्वाधार कर हटाइएको छ। हवाई क्षेत्र कोभिडबाट अत्यन्तै प्रभावित भएकाले सहुलियत दिइएको हो’, उनले भने।

एमसीसीमा जग्गा अधिग्रहण गर्न सरकारले बजेटमा छुट्याएको र अहिले सरकारले गर्ने कामका लागि मात्रै बजेट विनियोजन गरेको तर्क गरे। सोमबारको प्रतिनिधि सभाको बैठकमा ‘विनियोजन विद्येयक २०७७ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पनि पारित भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरूलाई तथ्यमा आधारित भएर विरोध गर्न सुझाव दिएका छन्। प्रतिनिधि सभाको बैठकमा मन्त्री खतिवडाले सरकारले राम्रो बजेट ल्याएको र प्रतिपक्षले त्यसको विरोधका लागि मात्रै विरोध गरेको आरोप लगाए।

‘जब संसद्मा धेरै राम्रो बजेट आउँदै जान्छ त्यहाँ धेरै विरोध नगरौ’ मन्त्री खतिवडाले भने ‘तथ्यमा आधारित भएर विरोध भयो भने राम्रा हुन्छ। जति आलोचना हुन्छ त्यही नै राम्रो बजेट आएछ भन्ने मैले ठानेको छु।’

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]