May 29th, 2020

कोरोनाको उच्च जोखिममा बैंकवित्त र बैंकरहरु

विशाल प्रशान्त पौडेल / सन् २०१९ डिसेम्बरको अन्त्यदेखी चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस चीनको सबैभन्दा ठुलो चाड स्प्रीङ फेष्टीबल जनवरी २३ आइपुग्दा बिस्तारै माहामारीको रुपमा देखीन थालेको थियो । वर्तमान अवस्थामा २०० भन्दा बढी देशका झण्डै ५९ लाख भन्दा बढी मानिसलाई कोरोनाको संक्रमण देखा परेको छ भने ३ लाख ६० हजार भन्दा बढीले ज्यान गुमाईसकेको अवस्था छ। केही समय यता नेपालमा समेत संक्रमितको संख्या बढ्दै गईरहेको छ। स्थिती दिनानुदिन दयनीय बन्दै गईरहेको अवस्था छ।

बिश्वव्यपी फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले मिति २०७६/१२/११ देखि चरणबद्ध रुपमा बन्दाबन्दी घोषणा गर्दै आएको छ। सबै क्षेत्रमा कार्य गर्ने कर्मचारिलाई अहिले निकै कठिन परिस्थितिसंग जुधेर कार्य सम्पादन गर्नु परेको छ। कोरोना रोगको रोकथामको लागि अहोरात्र खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका सम्पुर्ण रास्ट्रसेवक कर्मचारीहरुप्रति सदैव उच्च सम्मान अनि सुभावना रहिरहनेछ। बिगत केही दिनदेखि संक्रमणको संख्या बढ्दै गईरहहेको हुनाले धेरै बैंक तथा बित्तीय संस्थाहरुलाई यसघी कार्यालय खोल्ने समय तालिकालाई थप परिमार्जन गरि संचालन गरिरहेको अवस्था छ।

  • यस समय बैंकले नाफा आर्जनभन्दापनि बिशुद्ध सेवा प्रवाह गरिरहेको अवस्था छ। बन्दाबन्दिको समयमा समेत कर्मचारीहरु आलो पालो खटिएर सेवा प्रदान गरिरहेका छन् । बैंकका साखाहरु आलो पालो खुल्दैमा बैंक र बैंकका कर्मचारीहरुलाई केहि असर परेको छैन भनेर मूल्याकंन गरिनुले भोलिका दिनमा ठूलो दुर्घटना ( आर्थिक अनि मानवीय ) ननिम्त्याउला भनेर भन्न सकिँदैन। यस विषम परिस्थितिमा सबैजना सतर्क, सुरक्षित भइ आपसी समन्वय गरि कार्य संचालन एवम् सम्पादन गर्नुपर्ने आवश्यकता देखिएको छ

 

  • यसै प्रसङ्गमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैन्किङ्ग सेवा संचालन गर्नुपर्ने भनी नेपाल रास्ट्र बैंक तथा नेपाल बैन्कर्स एसोसिएसनद्वारा परिपत्र जारी गरिएको थियो। सोही अनुसार उल्लेखित नियमक निकायहरूको निर्देशन परिपालना गर्न यस विषम परिस्थितिमा अत्यावश्यक बैन्किङ सेवा सुचारु गर्नु पर्ने बाध्यात्मक व्यवस्थाले गर्दा अर्को व्यवस्था नआएसम्म बैन्किङ सेवा संचालन गर्नु पर्ने बाध्यता छ। कार्यालयको मुलढोकादेखि काउन्टरमा कार्य गर्ने कर्मचारीहरुले कार्यलयमा सेवा लिन आउने ग्राहकहरुसंग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रदान गर्नुपर्ने हुनाले जोखिम समेत उत्तिकै रहेको हुन्छ ।

उच्च ग्रामीण भेगमा डिगिटल बैन्किङ्गलाई बजारिकरण तथा व्यवहारमा लागू गर्ने उस्तै कठिनाई पनि संगसंगै छ । कथित बिदेशबाट रोजगार गुमाएर तथा सिमावर्ती क्षेत्रहरुबाट आएका नेपाली नागरिकहरुलाई व्यवस्थित रुपमा एकान्तवासको व्यवस्था नहुनु थप समस्या निम्त्याएको छ। त्यसै परिसरमा साबुन, मास्क, स्यानिटाईजर लगायतका सरसफाईका लागि चाहिने आवश्यक सामानको उचित व्यवस्थापन नहुनु, सौचालय, भान्साघर, जाच गर्ने कक्ष लगायतका विभिन्न स्थानहरु सफा नहुनुले अर्को महामारी शृजना हुने देखिएकोले बेलैमा समस्याको समाधानतिर तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ।

बैंकको साखा कार्यलयमा सेवा लिन आउनुहुने कथित सेवाग्राहिहरुले सुरक्षित मास्क प्रयोग गर्ने नगरेको, सामाजिक दुरि कायम गर्न आलटाल गरेको, एकजनाको कार्यको लागि ३जना भएर बैंकमा आउने गरेको पाईएको छ। बैंकको तर्फबाट पनि केही हदसम्म कमि कमजोरी भएको पाईएको छ। कुनै पनि बैंकको तथा बित्तीय संस्थाको साखामा सेवा लिन आउनुहुने सेवाग्राहीलाई सर्वप्रथम ज्वोरो मापन गर्ने थर्मल गन कतै भेटिएको छैन। आवश्यक स्थानमा स्यानिटाईजर, साबुन, मास्क, सामाजिक दुरि कायम गर्ने, बैंक परिसर सफा गरिरहने, आवश्यकता अनुसार पन्जाको प्रयोग नगरिएको, ग्राहकको विवरण अभिलेख समेत नगरिएको पाईएको छ। साथै, ग्राहकले जम्म्मा गर्न ल्याएको भौतिक रकमलाई सुरक्षित रुपमा सटिङ्ग गर्ने गरेको पाईएको छैन। यस विषयमा उच्च व्यवस्थापनको ध्यान जानू र तत्काल सतर्कताका उपायहरू अपनाउनु अपरिहार्य देखिन्छ ।

यसरी कोरोनाको संक्रमणलाई मध्यनजर गरि आलो पालो गरि कार्य संचालन गरिरहेका कर्मचारीको सवालमा किन स्थानिय निकाय, जिल्ला प्रसासन, उच्च स्तरिय व्यवस्थापन, नेपाल रास्ट्र बैंक, नेपाल बैन्केर्स एसोसिएसन मौन छन् । मास्क, स्यानिटाईजर, साबुन अनि पन्जाले कति समयसम्म बैंकमा कार्यरत कर्मचारीलाई सम्भावित जोखिम अनि संक्रमणबाट जोगाउला? यस बिकराल समयमा कार्यालय संचालन गरेर न कर्मचारीले स्याबासी पाएका छन् न त उच्च स्तरिय व्यवस्थापनबाट कर्मचारिको मनोबल बढाउन स्वास्थ र प्रोत्साहन सम्बन्धि गर्बिलो आश्वासन नै।

कार्यालय संचालन गरिसेवा प्रवाह गर्ने बखत कर्मचारिहरुलाई उच्च स्वास्थ सुरक्षा, सतर्कता एवम् सामाजिक दुरि कायम गराउनु आवश्यक छ। कार्यालय संचालन गर्दा चिकित्सक एवम् स्वास्थकर्मीहरुसंग आवश्यक स्वास्थ सुरक्षा संग सम्बन्धित सबै बिधिहरुबारे परामर्श लिन जरुरी छ। निश्चित समय र पासको व्यवस्थाले कार्य सम्पादनमा जटिलता उत्पन्न भएको छ। बैंकको कार्य समयमा ग्राहकको उच्च चापले गर्दा अन्तमा त्यस दिनको दैनिकी हिसाब मिलान गर्न समय लाग्ने भएकोले कार्यालय बन्दा गर्ने समय निस्चित गर्नु बैंकमा कार्य गर्ने कर्मचारिहरुलाई अप्ठ्यारोमा पार्नु हो। सिमित कर्मचारीहरुद्वारा साखाको अन्तरिक कार्य, ग्राहकको माग अनि चाप व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सरकारि कारोबार गर्न निकै कठिन भएको अनुभव धेरै संग छ। यस विषम परिस्थितिमा कार्यलय संचालन गर्दा आलो पालो गर्ने र कार्यालय आवतजावत गर्न आवश्यक पासको सुबिधा सहज भए बैंकका कर्मचारिहरुलाई धेरै हदसम्म सहज हुने थियो। साथै, बिद्दुतिय कारोवारमा जोड दिने र सम्भव भएसम्म नजिकका कर्मचारिहरुबाट सन्चालन गर्ने व्यवस्था मिलाए सुनमा सुगन्ध हुने थियो।

लेखक कुनै एक वणिज्य बैंकमा कार्यरत कर्मचारी हुन् ।उक्त बिचार लेखकका नीजि विचार हुन् । यस लेखकले काम गर्ने संस्थासँग कुनै सरोकार राख्दैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]