अनलाइन कारोबार बढ्दै : किराना सामानदेखि बीमा सुविधासम्म

बैंकिङ खबर । कोरोना महामारी फैलीदै गएपछि अधिकाँस व्यापार व्यबसाय अनलाइनमा प्रवेश गरेका छन् । डिजिटल माध्यमबाट कारोबार गर्न सकिने भएपछि सामान्य किराना सामानदेखि विभिन्न अन्य सामानहरु अनलाइनबाटै विक्रि वितरण बढ्दै गएको हो । बैंकिङ क्षेत्रले पनि अनलाईन सर्भिस बढाउँदै जाँदा डिजिटल कारोबारमा समेत बृद्धि भएको छ । लकडाउन यता मोवाइल वालेटको डाउनलोर्ड पनि बढेको देखिएको छ । करीव ५० लाख मानिसहरुको हाल अनलाईनमा पहुँच रहेको अध्ययनहरुले देखाएका छन् ।

बीमा सेवा पनि अनलाइनबाटै
बीमा कम्पनीहरूले अनलाइनमार्फत बिमालेख बिक्री सुरु गर्ने भएका छन् । बीमा समितिले यस्तो बीमा लेख जारी गर्न निर्देशन दिइसकेको छ । कोरोनाभाइरसका कारण लकडाउनको समयअवधि बृद्धि हुँदै गएपछि अनलाईनमार्फत बिमालेख बिक्री सुरु गर्नुपरेको बीमा समितिले बताएको छ । समितिले यस अघि बुधबार बीमा कम्पनीहरूलाई अनलाईन बिमालेख बिक्रीका लागि कार्यविधि बनाउन निर्देशन दिएको थियो । अब बीमा कम्पनीहरूले अनलाइनबाटै बीमालेख बिक्री गर्न सक्ने भएका हुन् । कम्पनीहरूले कार्यविधि तयार गरी बीमा समितिले स्वीकृत गरेपछि अनलाइनबाटै बीमा सेवा संचालन हुने छ ।

फेसबुकबाटै डिजिटल किराना पसल संचालन गर्न सकिने

 लकडाउनले सन्सारभरी जनजीवजन अस्त व्यस्त बनाउँदै गर्दा सामाजिक सञ्जाल फेसबुकले ससाना किराना पसललाई समेत डिजिटल माध्यमबाट सामान बेच्न सक्ने सुविधा ल्याएको छ । उसले अनलाइनमै स्टोर बनाउने सुविधा समेल दिएको छ । जसको कुनै शुल्क समेत लाग्दैन । फेसबुकले ग्राहक बनाउने, सामान खरीद गर्ने तथा विभिन्न कम्पनीका वेबसाइटमा राखिएका सामान ग्राहकले हेर्न सक्ने र क्लिक गर्न सक्ने गरी सामान खरीद र विक्रि गर्ने व्यबस्था गर्न सक्ने सुविधा ल्याएको हो । हाल कोरोना भाइरसका कारण सन्सारभरी आवत जावतमा कठिनाई उत्पन्न भएको छ । यसबाट अनलाइन पसल संचालन गरी व्यापार व्यबसाय गर्न सकिने सुविधा उपलव्ध छ । यसबाट रोजगारी गुमाएका मानिसलाई समेत आत्म निर्भर हुनका लागि सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।