July 15th, 2016

साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । नेपाल राष्ट्र बैंकले विहीबार मौद्रिक नीति जारी गर्यो । त्यसपछि सोही नीतिकै चर्चा भइरहेको छ । मौद्रिक नीति आउनुअगावै पनि साताभर मौद्रिक नीतिकै बारेमा चर्चा भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ ः

मौद्रिक नीति
नेपाल राष्ट्र बैंकले विहीबार मौद्रिक नीति सार्वजनिक गर्यो । सरकारले ल्याएको विस्तारकारी बजेटको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकका लागि चुनौती थियो । सो चुनौतीलाई पार गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मुलुकको बैंक तथा वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रको विकासमा सहयोग पुर्याउने व्यवस्थाहरु ल्यायो । अब, मौद्रिक नीतिप्रति कुन क्षेत्र सन्तुष्ट रह्यो र कुन क्षेत्र असन्तुष्ट रह्यो, कुन क्षेत्रका लागि मौद्रिक नीतिले राम्रो गर्यो र कुन क्षेत्रका लागि गरेन लगायतका विषयमा बहस सुरु भएको हो । 

मर्जर तथा एक्विजिसन
पोखरामा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकको विहीबार सम्पन्न विशेष साधारण सभाले चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको शुभेच्छा विकास बैंक लिमिटेडलाई गाभ्ने विशेष प्रस्ताव पारित गर्यो । यसै साताको विहीबारदेखि बैंक अफ काठमाण्डू (बिओके) र लुम्बिनी बैंक गाभिएपछिको एकिकृत कारोवार सुरु भयो । विहीबारदेखि नै सनराइज बैंक र नारायणी नेशनल फाइनान्सको एकीकृत कारोबार सुरु भयो । एनसीसी बैंकको बुधबार भैरहवामा सम्पन्न विशेष साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैक र सुप्रिम डेभलपमेण्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्यो । गत साताको शुक्रबार मज नेपाल राष्ट्र बैंकबाट मर्जर तोड्ने स्वीकृति पाएपछि  जनता बैंक र माछापुछ्रे बैंकको शेयर कारोबार सोमबारबाट सुचारु भयो । 

शाखा, सेवा तथा प्रविधि विस्तार
प्रभु बैंकले काठमाण्डौको हात्तीगौँडामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्यायो । फेवा विकास बैकले म्याग्दीको बेनीथित हुलाकचोक शाखा स्थापना गरी सोमबारबाट कारोबार सुरु गर्यो । 

शेयर निष्काशन
नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि निस्कासन गरेको एफपीओको प्रमाणपत्र वितरण सुरु विहीबारदेखि सुरु गर्यो । गोरखा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि आगामी साउन ६ गते शेयरधनी दर्ता किताब बन्द गरिने सूचना निकाल्यो । मेट्रो डेभलपमेन्ट बैंकले ४ लाख ७२ हजार ७ सय १५ कित्ता संस्थापक शेयर साधारणमा परिर्वतन गर्ने जानकारी नेप्सेलाई गरायो । मेगा बैंकले पनि ६१ लाख ५७ हजार ९ सय ७३ कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गर्ने जानकारी बुधबार नै नेप्सेलाई गरायो । ग्रीन डेभलपमेण्ट बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बुधबार बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा बाँडफाँड भयो । सगरमाथा इन्स्योरेन्स कम्पनीको मंगलबार सम्पन्न साधारसभाले आफ्ना शेयरधनीलाई २३.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्यो । जलविद्युत लगानी तथा बिकास कम्पनीको शेयर कारोबार मंगलबारदेखि खुल्यो । भार्गव विकास बैंकको ८ औँ साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो । स्थानीय प्रभावितलाई अरुण कावेली पावर लिमिटेडको सेयर बाँडफाँड गरियो । यती डेभलपमेण्ट बैंकले २ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गर्यो । एनबी ईन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्काशनका लासग साउन ६ गते शेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गर्यो ।

सहयोग तथा अनुदान
सिटी एक्सप्रेसले आफ्नो वार्षिकोत्सवको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेसनलाई १५ लाख ५५ हजार रुपयाँ सहयोग गर्यो । सिर्जनात्मक अभियानहरुमा सहयोग पुर्याउँदै आएको बैँक अफ काठमाण्डूले भूकम्पपीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ प्रदान गर्यो ।  सहकारी विभागले ४ दर्जन सहकारी संस्थालाई डेढ करोड रुपैयाँ पुँजीगत अनुदान दियो । नेपाल पुनर्बिमा कम्पनी ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा मंगलबार एक करोड रुपैयाँ हस्तान्तरण गर्यो । 

सम्मान तथा पुरस्कार
‘मेक्स ट्रेडिङ च्यालेन्ज’ को उपाधि दिपेश पोते श्रेष्ठले पाए । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्डबाट सम्मानित भयो ।

अन्य
५० प्रतिशत तलव बढाउनेपर्ने भन्दै प्राइम कमर्सियल बैंकका कर्मचारीहरु आन्दोनमा उत्रिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने गोष्ठी काठमाडौँमा यसै साता सम्पन्न भयो । स्टान्डर्ड चार्टर्ड ग्रुप फाइनान्सियल क्राइम कम्प्लियन्स (एफसीसी) का डेपुटी प्रमुख डेभिड ह्वज नेपाल आए । व्यवस्थापिका–संसद्को बैठकले बजेट विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गर्यो । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९  क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गर्यो ।