May 19th, 2020

सवारी साधनको बीमा शुल्कमा छुट दिन इन्स्योरेन्स कम्पनीलाई बीमा समितिको निर्देशन

बैंकिङ खबर । बीमा समितिले नन लाइफ बीमा कम्पनीहरुलाई लकडाउन अवधिको सवारीसाधनको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ। समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले ०७६ चैत ११ देखि लकडाउन घोषणा गरिएको अवस्थामा अधिकांश सवारीसाधन पूर्ण रुपमा थन्किएको तथा केही सवारीसाधन आंशिक र अतिन्यून रुपमा मात्र चलेकोले बीमा जोखिम पनि न्यून हुने भएको भन्दै समितिले बीमितहरुलाई प्रिमियममा केही राहत दिन निर्देशन जारी गरेको हो।

बीमा समितिका अनुसार सवारीसाधन प्रयोगमा नरहेको सूचना सम्बन्धमा नेपाल सरकारले लकडाउन घोषणा गरेको मिति ०७६ चैत ११ लाई लिने र समयावधि नेपाल सरकारले लकडाउन हटाएको समयसम्म कायम गर्नुपर्ने जनाएको छ।

अत्यावश्यक सेवाका सवारीसाधनको हकमा नेपाल सरकारले सूचना जारी गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको अवधिसम्मको लागि थन्किएको वधि गणना गर्ने र त्यो बाहेक अन्य सबै सवारीसाधनको हकमा थन्किएको अवधि गणना गर्दा चैत ११ देखि लकडाउन नसकिएसम्मको अवधि गणना गर्नुपर्ने जनाएको छ । यस्तै समितिले चालू बीमा अवधिमा दाबी परिसकेको सवारीसाधनको हकमा थन्किएको अवधिको लागि छुट लागू नहुने जनाएको छ।

यस्तै, उपरोक्त बमोजिम थन्किएको अवधिको बीमाशुल्क छुटको गणना भने सवारीसाधनको कुल वार्षिक बीमाशुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिनुपर्ने उल्लेख गरेको छ ।
 उपरोक्त अनुसार कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समूह समेतको हिसाब गर्नुपर्ने जनाइएको छ भने यसरी प्रदान गरीने छुट रकम, सवारीसाधन बीमाको नवीकरण गर्दा नवीकरण बीमा शुल्कमा समायोजन गर्ने र सवारीसाधनको अन्यत्र बीमकसँग नवीकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने जनाइएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]