May 6th, 2020

बैंक तथा वित्तीय संस्थाको कर धेरै भयो, घटाउनुपर्छ – भरतराज ढकाल

लामो समयको लक डाउनले सिंगो अर्थतन्त्र प्रभावित भएको छ । आगामी दिनमा यसको प्रभाव झन् गम्भीर हुँदै जाने देखिन्छ । बैंकिङ कारोबारहरु हुन नसकेका कारण व्यवसायमा असर परिरहेको छ । सरकारले डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । अर्थतन्त्र बढ्दो संक्रमणको त्रासमा रहेको बेला सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा लागेको छ । अबका दिनमा आर्थिक क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने विषयको दिशानिर्देश आगामी बजेटले गर्नेछ । यसैबीच, लक डाउनका कारण वित्तीय क्षेत्रमा देखिने जोखिम र जोखिम कम गर्न वित्तीय क्षेत्र र सरकारले चाल्नुपर्ने कदमहरुका विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी रुपा कोइरालाले मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः

लामो लक डाउनका कारण वित्तीय क्षेत्रमा के कस्ता जोखिम ल्याउन सक्छ ?
लामो समयको लक डाउनका कारण अर्थतन्त्रका सबै क्षेत्रमा असर परेको छ । यसमध्ये, पर्यटन क्षेत्र र यातायातको क्षेत्रमा तुलनात्मक रुपमा बढी असर परेको छ । वित्तीय क्षेत्रमा पनि यसको असर परेको छ । लक डाउनलाई व्यवस्थापन गरेर खुकुलो बनाइएन भने वित्तीय क्षेत्र लगायत सबै क्षेत्रमा असर बढ्दै जान्छ । एकदमै सावधानीपूर्वक तरिकाले रणनीति बनाएर लक डाउन खोलिएन भने बैंक तथा वित्तीय संस्थाहरु समस्यामा पर्न सक्छन् । लक डाउनले वित्तीय क्षेत्रमा यति नै प्रभाव पार्छ भनेर यकिनका साथ भन्न सक्ने अवस्था छैन । ठूलो असर गर्न पनि सक्छ । अहिले ऋणीहरुले लगेको ऋणको उपयोगिता एकदमै कमजोर रहेको छ । ऋणीहरुले कर्जा तिर्न सकेनन् र बैंकिङ क्षेत्र जोखिममा पर्यो भने राज्यले जिम्मा लिँदैन । एक डेढ महिनाको अवस्थालाई हालसम्म सामान्य रुपले लिइएको छ । तर, पछि यसको ठूलो असर बैंकिङ क्षेत्रमा देखिन्छ । अब स्वास्थ्य सामग्री समयमा उपलब्ध गराउने, संक्रमितलाई उपचारको व्यवस्था गरी सरकारले लक डाउनलाई खुकुलो बनाएर अघि बढ्नुपर्छ ।

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । ग्रामीण क्षेत्रमा डिजिटल बैंकिङ सम्भव छ ?
ग्रामीण क्षेत्रमा डिजिटल बैंकिङ कारोबार अघि बढाउने कार्य निकै गाह्रो छ । सबैले यसको प्रयोग गर्न जान्दैनन् । ग्रामीण क्षेत्रमा प्रविधि भरपर्दो हुँदैन, किनकि कनेक्टिभिटी भरपर्दो छैन । त्यसैले, डिजिटल कारोबारबाट सहरी क्षेत्रमा केही राहत भए तापनि ग्रामीण क्षेत्रमा सम्भव देखिँदैन ।हुन त ग्रामीण क्षेत्रमा बैंकहरुको लगानी खासै हुँदैन । बैंकहरुको लगानी सहरी क्षेत्रमा नै बढी हुन्छ । ग्रामीण क्षेत्रमा प्रविधि प्रयोग गर्न नजान्ने र कनेक्टिभिटीको समेत समस्या रहेका कारण मानिसहरुले डिजिटल बैंकिङ कारोबार गर्न सहरमा जति सहज छैन ।

डिजिटल कारोबारलाई ग्रामीण तहसम्म जोड्न केके गरिनुपर्छ ?
डिजिटल कारोबार भनेको सूचना प्रविधिसँग सम्बन्धित कुरा हो । पहिले त यसबारे मानिसहरुमा चेतना हुनुपर्छ । ग्रामीण क्षेत्रमा बस्ने मानिसहरुले प्रविधिको प्रयोग गर्न जान्ने हुनुपर्छ । यससँगै, इन्टरनेट लगायत कनेक्टिभीटीसँग सम्बन्धित प्रविधिहरुले पनि भरपर्दो रुपमा कार्य गर्नुपर्ने हुन्छ । अहिले डिजिटल कारोबार गरेर मात्रै वित्तीय क्षेत्रमा ठूलो योगदान पुग्छ भन्ने हुँदैन । किनकि, ग्रामीण क्षेत्रमा बस्ने मानिहरुले सहरमा जसरी दैनिक जस्तो बैंकिङ सुविधा प्रयोग गर्नुपर्ने हुँदैन । अहिलेको अवस्थामा सहरी क्षेत्रको अवस्था हेरेर कारोबार खुलाउने, व्यापार व्यवसायहरुलाई चलायमान बनाउने कुरा बढी महत्वपूर्ण हुन्छ ।

कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दो छ । यस क्षेत्रको लगानीमा जोखिम छ कि छैन ?
कृषि क्षेत्रको लगानीमा अरुको क्षेत्रको तुलनामा जोखिम कम रहेको छ । हालसम्म कृषि क्षेत्रलाई उपेक्षा गरिँदै आइएको थियो । यद्यपि, अहिलेको अवस्थाले कृषि क्षेत्रले महत्व बुझाइदिएको छ । अहिले आएर सरकारका साथै निजी क्षेत्रले पनि कृषिलाई महत्व दिन थालेका छन् । नेपालमा कृषिमा बैंकहरुको ठूलो लगानी प्रवाहित छैन । कागजमा लगानी गरेको देखिए तापनि फिल्डमा लगानी कम छ । त्यसमाथि अहिले कृषि क्षेत्रलाई अनुदान, सहुलियत लगायत दिएको छ । त्यसैले, अरु क्षेत्रमा जोखिम बढे तापनि कृषि क्षेत्रको बैंकिङ लगानीमा धेरै जोखिम छैन ।

लकडाउनको अबस्थासँगै आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरु कसरी अगाडी बढ्नुपर्ला ?
अबका दिनमा बैंकहरुले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ । लगानीका मोडलहरु पनि परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । कोरोनाले कति प्रभाव परेको छ र आगामी दिनमा कति प्रभाव पार्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन । हिजो बैंकहरुले परम्परागत रुपले एउटै क्षेत्रमा र एउटै वर्गका व्यक्तिहरुलाई ठूला ठूला लगानी गर्दै आएका थिए । अब त्यो अवस्था हुँदैन । बैंकहरुले उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रलाई नै बढी जोड दिनुपर्ने हुन्छ । ठूला कर्जा भन्दा पनि साना तथा मझौला व्यवसायका कर्जाहरुलाई बढी प्राथमिकता दिनुपर्ने हुन्छ । आगामी आर्थिक वर्षको बजेट आउने क्रममा छ । त्यसपछि मौद्रिक नीति पनि आउँछ । जसमार्फत सरकारले ल्याउने नीतिका आधारमा अघि बढ्नुपर्छ । राज्यका विभिन्न निकायका साथमा अन्तर्राष्ट्रिय संस्थाहरुले पनि नेपालको अर्थतन्त्रलाई कोरोनाले पार्ने प्रभावको मूल्यांकन र विश्लेषण गरिरहेका छन् । तीनलाई पनि आधार मानेर बैंकहरु अगाडी बढ्नुपर्छ । मूख्य कुरा भनेको, अबका दिनमा बैंकहरुले कर्जा वितरणको शैली परिवर्तन गर्नु आवश्यक छ । उत्पादनशील क्षेत्रमा र साना तथा मझौला व्यवसायमा कर्जा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्छ ।

सरकार बजेटको तयारीमा लागेको छ । अहिलेको अवस्थामा बजेटले केके कुरालाई प्राथमिकतामा राख्नुपर्छ ?
कर्पोरेट ऐन अनुसार बैंक तथा वित्तीय संस्थाले अहिले ३० प्रतिशत कर तिरेको अबस्था छ । यसलाई घटाएर २० देखि २५ को हाराहारीमा ल्याउन जरुरी देखिन्छ । यो करलाई घटाउने व्यवस्था बजेटमा गरिनुपर्छ । कृषिलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्छ । बैंकहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीतिहरु ल्याउनुपर्छ । संघीयतामा गइसकेपछि देशको खर्च बढ्न जान्छ । हामीले खर्चलाई मितव्ययी ढंगले व्यवस्थापन गर्नुपर्छ । अनावश्यक फजुल खर्च गर्ने योजनासहितको लोकप्रिय बजेटभन्दा पनि यथार्थको आधारमा बजेट ल्याउनुपर्छ । महत्वाकांक्षी हैन यथार्थापरक बजेट आउनुपर्छ । सांसदहरुलाई दिने रकमहरु लगायत अनावश्यक खर्चहरु, दुरुपयोग हुन सक्ने सम्भावना भएका खर्चहरु कम गरी ठूला ठूला परियोजनालाई निरन्तर रुपमा अगाडी बढाउने गरी प्राथमिकतामा राखिनुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]