बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थपियो

बैंकिङ खबर । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा उक्त अवधिभरका लागि संक्रमणबाट सजग रही सम्पूर्ण बिमक, अभिकर्ता, सर्भेयर, सर्वसाधारणको जानकारीका लागि बीमा समितिले लकडाउन अवधिभित्र संकलन गनुपर्ने जीवन बिमाको प्रिमियम संकलन गर्ने समय जेठ मसान्तसम्म पुर्याउन निर्देशन दिएको छ ।
कोरोना भाइरस बाट उत्पन्न भएको असामान्य परिस्थितिमा बीमा अवधि समाप्त भएको बिमालेख बिमितको लिखित अनुरोधमा (विद्युतीय माध्यमबाट प्राप्तसमेत) का आधारमा बिमालेख नवीकरण लकडाउन सकिएको १५ दिनसम्म कायम गर्न बिमा कम्पनीलाई निर्देशन दिएको छ ।
यस्तै, समितिले सूचना जारी गर्दा जीवन बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप गर्नुका साथै उक्त अवधिको ब्याजसमेत नलिन बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

समितिले चैत र वैशाखमा नवीकरण गर्नुपर्ने बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न समय असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । यसरी नवीकरण गर्दा कुनै जरिवाना नलाग्ने समितिले जनाएको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भए अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाएर दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिने निर्णय भएकोे जनाइएको छ ।