बैंकिङ खबर । देशभित्र कोरोना संक्रमण बढ्दै गएपछि लक डाउन थप गरिएको छ । चैत्रको दोस्रो सातादेखि सुरु भएको लक डाउन पटक पटक समय थप गर्दै बैशाख २५ गतेसम्म घोषणा गरिएको छ । लक डाउनबाट देशको आर्थिक क्षेत्रमा ठूलो असर परेको छ । उद्योग व्यवसायहरु संचालन गर्ने अवस्था नभएपछि आम्दानी बन्द भएको छ ।
बैंकहरुले निक्षेपमा घटाएको नयाँ व्यणजदर
वाणिज्य बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक प्रतिशतले झारेर बढीमा ८.७५ प्रतिशत कायम गरेका छन् । यसअघि बैंकहरुले ९.७५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । त्यसैगरी बचत खातामा बढीमा ५.५ प्रतिशत व्याजदर दिने भएका छन् । यसअघि ६.५ प्रतिशत व्याज दिँदै आएका थिए ।
विकास बैंकहरुले पनि निक्षेपमा व्याजदर घटाएका छन् । विकास बैंकहरुले व्यक्तिगत मुद्धतिमा नौ प्रतिशत र संस्थागत मुद्धतिमा आठ प्रतिशत व्याज दिने सहमित गरेर अगाडि बढेका छन् । त्यस्तै, बचतमा छ प्रतिशत व्याज दिने विकास बैंकहरुको सहमति रहेको छ ।
फाइनान्स कम्पनीहरुले पनि व्याजदर घटाका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षसम्मको निक्षेपमा ९.५ प्रतिशत, दुई वर्षभन्दा बढीको ९.७५ प्रतिशत र बचतमा ६.५ देखि ७.२५ प्रतिशत व्याज दिने निर्णय गरेका छन् । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्ने अपेक्षा छ ।