२०७७ बैशाख १७ गते

दुईवटा वाणिज्य बैंकद्धारा चैत मसान्तको रिपोर्ट सार्वजनिक : नाफामा सन्तोषजनक

बैंकिङ खबर । वाणिज्य बैंकहरुले वित्तीय विवरण प्रकाशन गर्न सुरु गरेका छन् । केही बैंकले चैत मसान्तसम्मको विवरण प्रकाशन सुरु गरेका हुन् । कोभिड १९ कोरोनाका कारण ब्याज तिर्नेहरुको संख्या कम भएपनि सोही आधारबाट बैंकहरुले विवरण प्रकाशन सुरु गरेका हुन् ।बर्तमान अबस्थालाई हेर्दा वितरणयोग्य नाफामा केही कमी आएपनि बैंकहरुको रिपोर्ट सन्तोषजनक नै देखिएको छ । विवरण अनुसार बैंकहरुको वितरणयोग्य नाफामा केही गिरावट देखिएको छ । यसो हुनुको मुख्य कारण नेपाल राष्ट्र बैंकले दिएको समय अबधिको सहुलीयत हो । राष्ट्र बैंकले चैत मसान्तसम्मको साँवा, व्याज र किस्ता असार मसान्तसम्म बुझाउन भनेको छ । तर पनि यो अवधिमा करीव ५० प्रतिशतले रकम भुक्तानी गरेका छन् । सुरुमा चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गर्ने दुईवटा वाणिज्य बैंकको कुल आम्दानी र वितरणयोग्य नाफा घटेको विवरण सार्वजनिक भएको छ । सिटिजन्स बैंक र प्राइम कमर्सियल बैंकले चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सिटिजन्स बैंकको वितरणयोग्य नाफा करिब ३३ प्रतिशतले घटेर ६१ करोडबाट ४१ करोडमा झरेको बैंकले जनाएको छ । तर उक्त बैंकको खुद नाफा भने २ प्रतिशतले बढेर एक अर्ब ९ करोड पुगेको छ । त्यसैगरी प्राइम कमर्सियल बैंकको खुद नाफा ३१ प्रतिशतले बढेको छ । तर उक्त रकममा प्राइमले कैलाश विकास बैंकलाई गाभेको सम्पत्तिबाट आर्जित नाफा जोडएिको छ । वितरणयोग्य नाफा ६४ करोड रुपैयाँ आर्जन भएको र कैलाश र प्राइमलाई अलग गरेर हेर्दा वितरणयोग्य नाफा घटेको जनाइएको छ । दुई वाणिज्य बैंकले प्रकाशन गरेको रिपोर्ट अनुसार रकम नउठेका कारण वितरणयोग्य नाफामा कमी आएको देखिन्छ । अन्य बैंकहरुले पनि रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेका छन् ।