२०७७ बैशाख १५ गते

लघुवित्त क्षेत्रलाई जोगाउन राज्यस्तरबाटै प्याकेज ल्याएर सम्बोधन गरिनुपर्छ

कोरोना संत्रास र लकडाउनका कारण नेपालको अर्थतन्त्रमा नयाँ परिस्थिति सृजना हुने देखिन्छ । ग्रामिण अर्थतन्त्रलाई यसले थप प्रभाव पार्ने विश्लेषण हुँदै आएको छ । यसै विषयमा केन्द्रीत रहेर वित्तीय क्षेत्र र लघुवित्त क्षेत्रमा पर्ने प्रभावका विषयमा रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकसँग बैंकिङ खबरका लागि अपेक्षा ढुंगानाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।

लकडाउनमा लघुवित्तहरुको सेवा कसरी अघि बढ्दै छ ?

लकडाउनको समयमा सरकारले आव्हान गरे अनुरुप अत्यावश्यक कामकाजहरु ल्घुवित्तबाट संचालन भईरहेको छ । त्यसबाहेक सबैजासो काम ठप्प रहेको अबस्था छ । कर्मचारी लगायत हामी सबै लकडाउनको पालना गर्दै संयमका साथ सतर्कताका साथ बसीरहेको अवस्था छ । लघुवित्त क्षेत्रमा विशेषगरी फिल्डको काम बढी हुने तथा गाउँ गाउँबाट सुविधा दिनुपर्ने भएकाले मानिसहरु आपसमा भेटेरै सामुहिक काम गर्नुपर्ने हुन्छ । जसले गर्दा यो वेला त्यो सम्भव नै भएन । अहिले सामुहिक टच भयावह हुन सक्ने भएकाले सुविधा दिन सक्ने अवस्था छैन । कारोबारहरु पनि बन्द नै छ । तर ग्राहकहरुलाई भइपरी आउन सक्ने समस्याका लागि कर्मचारीहरुले फोनबाट सम्पर्क गरीरहनुभएको छ । सम्पर्क अनुसार हाम्रा ग्राहकलाई केही असहज अबस्थामा सेवा दिनेवाहेकका कामहरु भएका छैनन् । सम्पूर्ण कर्मचारी र सदस्यहरुको बीचमा अत्यावश्यक कामबाहेक अरु सबै बन्दाबन्दीको अबस्था छ ।

अन्य वित्तीय संस्थाको तुलनामा लघुवित्तमा कोरोना माहामारीले बढी असर गर्ने देखिन्छ भनिएको छ , तपाईंको बीचारमा के हुन सक्छ ?
कोरोना संक्रमणको सन्त्रास र विशेषगरी लकडाउनको प्रभाव भोलिका दिनमा थाहा हुने कुरा हुन्छ । मलाई लाग्छ ग्रामिण तह र विपन्न बर्गसँग जोडिएका कारणले लघुवित्त क्षेत्रमा यसको प्रभाव बढी हुने देखिन्छ, किनभने हाम्रा ग्राहकरु निम्न स्तरका तथा अआय आर्जनमा निर्भर हुनुपर्ने भएका कारण प्रभाव धेरै पर्न सक्छ । यससँगै लघुवित्तमा लाग्नेहरुलाई लकडाउन खुलीसकेपछि पनि उहाँहरुको व्यापार व्यवसाय परीयोजना पनि सानै हुने भएकाले उहाँहरुको परीयोजना नै टुट्ने अवस्था समेत आउन सक्ने देखिन्छ । त्यसैले लकडाउन खुल्ने वितिकै पनि सामान्य अवस्था आउन सक्ने संभावना छैन ।

कोरोना महामारीको प्रभाव र लकडाउनको प्रभावले लघुवित्त क्षेत्रमा कस्ता समस्याहरु आउन सक्लान ?
प्हिलो कुरा उहाँहरुको परीयोजना विफल भइसकेपछि अप्ठ्यारो पर्ने नै भयो । यस्तै अर्थतन्त्रमा पनि प्रभाव पर्ने तथा बेरोजगारीको सिर्जना हुन सक्ने अवस्था आइपरेको छ । यस विषयमा अब हामी लगायत राज्यबाट व्यवस्थित तवरले संबोधन हुनु अत्यावश्यक छ । यसको प्रभाव मुलत अर्थतन्त्रलाई संकुचन गर्ने, आर्थिक ।्रोतहरुलाई असहज बनाउने तथा कर्जा प्रवाह भइरहेको अबस्थामा उक्त कर्जालाई उचित ठाउँमा प्रयोग गर्न नपाउने अनि व्यबस्थीत तरीकाले काम भइरहेको ठाउँमा अस्तव्यस्तता सृजना हुने अबस्था छ । त्यससँगै कतिपयले तरकारीमा लगानी गरेका छन् तरकारी जमिनमै कुहेको अबस्था छ, कतिपयको फलफुल होला । यी र यस्ता धेरै लगानी गरिएका ठाउँहरुमा त्यसको प्रतिचफल लिन नसक्ने अबस्था सृजना हुन सक्ने देखिन्छ । यसलाई राज्यतहबाटै सम्बोधन गर्नुपर्ने अबस्था रहन्छ ।

लघुवित्तलाई पुरानै अवस्थामा ल्याउन सरकार र राष्ट्र बैंकबाट के कस्तो राहतको आवश्यकता देख्नुहुन्छ ?
हामीले कस्तो अपेक्षा गरेका छौ भने हाम्रो लोन भनेको सिमित अवधिका लागि हुन्छ । १,२ वर्ष सम्मको लोनको अवधि हुन्छ । आजको दिनसम्ममा त एक महिना भन्दा बढी समय लकडाउनमै वितेको छ । अझै लम्बिरहेको छ । मानविय हिसाबले पनि हामीले लकडाउन खुलेपछि पनि तत्काल किस्ता उठाउन जान सक्दैनौं । फेरी खुलिसकेपछि पनि हामीले ग्राहकहरुलाई उहाँहरुको परीयोजनामा सहजै सुविधा उपलब्ध गराउन सहुलियत दिनुपर्नेहुन्छ । जसले गर्दा उहाँहरुको भुक्तानी गर्नुपर्ने अवधि सर्न जान्छ । यसले गर्दा सरकार र केन्द्रीय बैंकले पुर्नतालिकीकरण तथा समयावधि जुन यो बिचमा नतिरेका र तिर्न नसकेको अवस्था छ त्यसमा विशेष ध्यानाकर्षणका साथ कुनै निति ल्याएर सम्पूर्णमा राहतको महसुुस हुने बनाउनुपर्ने देखिन्छ ।

बैंकहरुमा ब्याजदर घट्ने कुराहरु आइरहेको छ, लघुवित्तमा यस सम्बन्धि केही छलपल भएको छ ?
यसको संभावना न्युन छ । किनभने बैंकको भन्दा हाम्रो ब्याज बढी नै छ । १२, १३ प्रतिशतमा लोन लिएर १७, १८ प्रतिशतमा लोन उपलब्ध गराएका छौं । हाल हामी काम नगरीकन बस्न बाध्य छौं । तर खर्च कम गर्ने आधार पनि छैन । कर्मचारी, घरभाडा अफिसका खर्चहरु यथावतै छन् । यसैले हामीले लोन लिदा पनि हामीलाई घटेर आयो भने यो संभावना रहन सक्ला । अन्यथा यसको संभावना छैन ।

यहाँको विचारमा अब समग्र लघुवित्तले कसरी अघि बढ्नु पर्ला ?
समस्या आईनै सकेको छ । अब आशावादी भएर हिम्मतमा साथ काम गर्ने बेला आएको छ । कोरोनाको कहर सकिए पश्चात के कस्तो अवस्था आउँछ त्यसलाई बिचार गरेर अध्यनबाट नै कसरी अगाडी बढ्ने भन्नेबारे सही खाका बनाउँन सहज हुन्छ । यस्तै अब हामीले कार्यशैलीमा परीवर्तन गर्ने । ३ पी अर्थात जनता, धर्ती र प्रकृतिलाइृ बिचार गर्ने र जोखिमका लागि पहिलेबाट तत्पर हुनुपर्ने भन्ने पाठ पनि सिकाएको छ । विगतमा नाफामा बढी ध्यान दिइएको थियो भने हाल यस माहामारीले जोखिमका लागि तयार रहनुपर्छ भन्ने पाठ सिकाएको छ । यसअर्थ यो परिस्थितिबाट उत्पन्न भएका समस्याहरुलाई अध्ययन गरेर नयाँ शैलीबाट काम गर्न जररी हुन आउँछ । मुलत : यो अबधि पश्चात आउने परिणामका आधारमा अघि बढ्नुपर्ने हुन्छ ।