२०७७ बैशाख १३ गते

लकडाउनमा सुदुर पश्चिमका बैंकवित्तको अबस्था – विरुराम जैशी

विरुराम जैशी, बैंकर / प्रमुख कार्यकारी अधिकृत कञ्चन डेभलपमेन्ट बैंक । कोरोना भाइरसको संक्रमण सन्त्रासका कारण सुदुरपश्चिमको जनजीवन कष्टकर अबस्थामै वितीरहेको छ । यहाँको व्यापार व्यवसाय सबै ठप्प अबस्थामा छन् । बैंकिङ क्षेत्रले आपतकालीन अबस्थामै शाखा संचालन गरेर सेवा सुचारु गरेका छन् । हाल सबै गतिविधी ठप्प नै छ । दैनिक कार्यहरु कठिन छ । तर पनि बैंकहरुबाट ग्राहकहरुलाई सुविधा दिनका लागि विहान ११ बजेबाट १ बजेसम्म संचालन गरी दैनिक सुबिधा दिइरहेको अवस्था छ । अन्य दिनहरु भन्दा त धेरै नै फरक परिरहेको छ । अहिलेको काम भनेको रकम भिक्ने र राख्नेमा मात्र सिमित छ । अन्य कामहरु गर्न सक्ने अवस्था छैन । प्राय गरी रेमिट्यान्स भुक्तानी र घरायसी सामान खरीद गर्नका लागि रकम झिक्न आउनेको संख्या बढी देखिन्छ । बैंकमा ग्राहकहरु अरु कामले खासै आउनुभएको छैन । हामी पनि पूर्ण रुपमा डिजिटलाइजेसनमा पुगेका हुन्थ्यौं भने यो अवस्थामा सहज हुन्थ्यो । अरु प्रदेशको तुलनामा यहाँ डिजिटलाइजेशन अलि कम छ । यसले गर्दा जोखिमको सम्भावना पनि धेरै देखिन्छ । बोर्डर क्षेत्र भएका कारण पनि अलिक मानिसमा बढी सन्त्रास छाएको छ । नोटबाट पनि कोरोनाको संक्रमण देखिन्छ भनेपछि बैंकका कर्मचारी पनि बढी नै सचेत भएर काम गरीरहेको अवस्था छ । बैंकहरुले सजगता अपनाएर काम गरीरहेका छन् । अन्य बैंकिङ कार्यहरुका लागि अहिले सम्भावना छैन । यो क्षेत्रमा पर्यटन, होटल, व्यापार व्यासाय तथा कृषि र हाइड्रोमा बैंकिङ लगानी धेरै छ । व्यापार, व्यवसायमा ह्रास आएका कारण कर्जा जोखिममा केही समस्या आउन सक्ने देखिन्छ ।

बैंकिङ कर्मचारी बढी सुरक्षित हुनुपर्छ
यस विषम परीस्थितीमा नोटबाट कोरोना भाइरस सर्छ भनिएका कारण यदी भाइरस सर्ने सम्भावना हो भने संक्रमित मानिसहरुलाई बैंकमा आउँन दिनु हुँदैन । रकम ओसार पसार कम गर्नुपर्छ भन्ने हो । कतिपय अबस्थामा बाध्यात्मक परिस्थिति पनि हुँदोरहेछ । अब यस्ता नोटहरुलाई सेनिटाइज गर्ने वा अन्य केही विकल्प नआएको कारण बैंकमा पैसाको काम गर्ने कर्मचारीले बढी सावधानी र सुरक्षित विधि अपनाउन जरुरी छ । कोरोना सम्बन्धिको क्षति के कस्तो हुन्छ, विशेषगरी आर्थिक क्षति धेरै हुने देखिन्छ । हाल राष्ट्र बैंकबाट अध्यन भइरहेकका कारण अध्ययनपछि र लकडाउनपछि के रिपोर्ट आउँछ अनि मात्रै ठोस निश्कर्ष निकाल्न सकिन्छ भन्ने लाग्छ । (कञ्चन डेभलपमेन्ट बैंक, महेन्द्रनगरका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसीसँगको कुराकानीमा आधारीत)