२०७७ बैशाख १० गते

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८४९.३३ अर्बको व्यापार घाटा

बैंकिङ खबर । जब कुनै देशले निर्यात भन्दा अधिक आयात गर्दछ, भने त्यसलाई व्यापार घाटा भनिन्छ । यसको मतलव यो हो कि देशले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न पर्याप्त सामान र सेवाहरू उत्पादन गर्न सक्षम छैन, त्यसैले उनीहरुले अन्य देशहरूबाट आयात गर्नुपर्दछ । यसको विपरित, जब एक देशले आयातभन्दा बढी निर्यात गर्दछ, भने यसलाई व्यापार बचत भनिन्छ ।
कुनै पनि देशको निर्यात र आयात त्यो देशको अर्थव्यवस्थाको विकाससँग सम्बन्धित हुन्छ । यदि आयात बढ्यो भने निर्यात घट्छ । यसको मतलब देशले बाहिरबाट विदेशी सामान किन्नको लागि अधिक पैसा खर्च गर्नुपर्छ । त्यसकारण, हरेक देशले आफ्नो देशबाट निर्यात बढी गर्न खोज्दछ अथवा निर्यात र आयात बराबर मात्रामा गर्न खोज्दछन् । नागरिकहरूले सबै चीजहरू देशमा अवस्थित कम्पनीहरूमार्फत प्राप्त गरे भने उनीहरूले विदेशी वस्तुहरूको खरीद कम गर्नेछन् । जसले आयात गर्नु आवश्यक हुँदैन । अर्थविद्हरूको अनुसार यदि कुनै देशको व्यापार घाटा निरन्तर धेरै वर्षसम्म रहिरह्यो भने त्यसले त्यस देशको आर्थिक स्थितिमा विशेष गरी रोजगार उत्पादन, वृद्धि दर र मुद्राको मूल्यमा नकारात्मक असर पार्न सक्छ ।

नेपालमा आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म रु.८४९.३३ अर्बको व्यापार घाटा भएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्ष २०७५/७६ फागुन मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु.३८.५५ अर्बले व्यापार घाटा घटेर हाल व्यापार घाटा रु.८४९.३३ अर्बमा कायम भएको हो । यो अर्थिक वर्ष माघको तुलनामा भने रु.११०.७ अर्बले व्यापार घाटा बढेको हो ।
२०७६÷७७ को फागुन मसान्तसम्ममा नेपालले रु. ९२४.२४ अर्बको कुल आयात गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०७६ फागुन मसान्तको तुलनामा २४.८७ अर्बले घटेको हो । तर गत माघ महिनाको तुलनामा रु.१२०.६४ अर्बले बढेको हो ।
नेपालले सबैभन्दा बढी आयात भारतबाट रु.५६६.६७ अर्बको, चीनबाट रु.१४६.६५ अर्ब यस्तै अन्य देशबाट रु.२१०.९१ अर्बको आयात गरेको छ ।
२०७६/७७ फागुन मसान्तसम्म नेपालले सबैभन्दा बढी आयात गरेको शीर्ष ५ बस्तुहरु

१.  पेट्रोलियम पदार्थ
२. ट्रान्सपोर्ट इक्युपमेन्ट, पार्ट पुर्जा
३.  अन्य मेसीनरी पार्ट
४. यम यस बिलेट (रड एवं स्टीलका लागि कच्चा पदार्थ)
५.  औषधि

नेपालले सबैभन्दा बढी आयात गर्ने बस्तुहरुमा पेट्रोलियम पदार्थ १२७ अर्ब ८२.५ करोडभन्दा माथि रहेको छ । यस्तै, ट्रान्सपोर्ट इक्युपमेन्ट, पार्ट पुर्जाको ७२ अर्ब ८१ करोड माथि, अन्य मेसीनरी पार्ट ५३ अर्ब १४ करोड माथि, यम यस बिलेटका अन्य पदार्थ ३२ अर्ब २४ करोड माथि र औषधि २२ अर्ब २५ करोड भन्दा माथि रहेको छ ।

आयातको तुलनामा हाम्रो देशबाट निर्यात ज्यादै न्युन छ । २०७६/७७ को फागुन मसान्तसम्म नेपालले रु.७४.९१ अर्बको मात्रै निर्यात गर्न सकेको छ जुन अघिल्लो आर्थिक वर्ष २०७६ फागुन मसान्तको तुलनामा रु.१३.६९ अर्बले बढेको हो र गत माघ महिनाको तुलनामा रु. ९.९४ अर्बले बढेको हो ।
नेपालले सबैभन्दा बढी निर्यात भारतमा रु.५२.२७ अर्बको, चीनमा रु.१.०८ अर्बको यस्तै अन्य देशमा रु.२१.५४ अर्बको निर्यात गरेको छ ।

२०७६/७७ फागुन मसान्तसम्म नेपालले सबैभन्दा बढी निर्यात गर्ने शीर्ष ५ बस्तुहरु

१. पाम आयल
२. ऊलन कार्पेट
३. पोलिस्टर र धागोजन्य वस्तु
४. जुटका वस्तुहरु
५. अलैंची

यस्तै फागुनसम्ममा सबैभन्दा बढी गरीएको निर्यातमा पाम आयलको गरीएको छ जुन रु. १५ अर्ब ३५ करोडभन्दा माथिको गरीएको छ । यस्तै ऊलन कार्पेट ४ अर्ब ८९ करोड, पोलिस्टर र धागोजन्य वस्तु ४ अर्ब ३७ करोड, जुटका वस्तुहरु ३ अर्ब ६८ करोड माथि, अलैची ३ अर्ब २१ करोड माथिको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।