२०७७ बैशाख ८ गते

खाद्यान्नको मूल्यवृद्धिदर दोहोरो अंक नजिक

बैंकिङ खबर । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा मूल्यवृद्धि आकाशिएको छ । विशेषगरी खाद्य तथा पेय पदार्थहरुको मूल्यवृद्धि उच्च रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७६ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७० प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ४.२० प्रतिशत रहेको थियो । गत माघ महिनाको तुलनामा भने फागुनको मुद्रास्फीति थोरै कम हो । माघमा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । यो अवधिमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.३३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

फागुन मसान्तमा काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत, तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ४.६१ प्रतिशत, ३.६१ प्रतिशत, ४.६४ प्रतिशत र ५.४७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो अवधिमा छिमेकी मुलुक भारतको समेत मूल्यवृद्धिदर बढेको छ । अघिल्लो आर्थिक वर्षको मार्चमा २.८६ प्रतिशत रहेको भारतको मुद्रास्फीति चालू आर्थिक वर्षको मार्चमा ५.९१ पुगेको छ ।