लक डाउनको समयमा हामी निर्जिवन बीमा कम्पनीहरुले अनलाइनबाट सबै काम गरिरहेका छौँ । हाम्रो अनलाइनबाटै इन्टिमेसन लिने सिस्टम रहेको छ । इन्टिमेसन लिइसकेपछि क्लेम परेको ठाउँमा अनलाइनबाटै सर्भेयरहरु खटाउने गरेका छौँ । सर्भेयरहरु देशका विभिन्न ठाउँमा हुनुहुन्छ । जानैपर्ने ठाउँहरुमा सर्भेयरहरु गएर आफ्नो कार्य गरिरहनुभएको छ । यो अत्यावश्यक सेवा अन्तर्गत नै पर्ने भएकाले नियमित रुपमा कार्य संचालन भइरहेको छ ।
स्थानीय निकायसँग सहकार्य
क्लेम परेको अवस्थामा हाम्रो सर्भेयरहरु गएर भिजिट गर्नुहुन्छ । यसमा हामीले गर्ने मूख्य काम भनेको क्लेमको सन्दर्भमा इन्टिमेसन पाएपछि सर्भेयर खटाउँछौँ । सर्भेयरले आफ्नो कार्य गर्नुहुन्छ । सर्भेयरहरु फिल्डमा गएर सर्भे गर्नुपर्ने हुन्छ । अहिलेको लक डाउनको समयमा तुलनात्मक रुपमा केही असजिलो त छ नै । यद्यपि, पासहरु लिने र आफ्नो कार्य गर्ने सन्दर्भमा स्थानीय निकायसँग सहकार्य भइरहेको छ । इन्स्योरेन्सको सन्दर्भमा चाहिँ हामीले अनलाइनबाटै पोलिसीहरु इस्यु गर्ने गरेका छौं । नयाँ पोलिसीहरु पनि जारी भइरहेको छ ।
परिस्थिती अनुसार अघि बढ्दै
कोरोना र लक डाउनका कारण अहिले समग्र अर्थतन्त्र नै प्रभावित भएको छ । यस्तो अवस्थामा बीमा व्यवसायमा पनि प्रभाव परिरहेको छ । यद्यपि, यो एउटा परिस्थिती हो । एउटा बाध्यात्मक अवस्थामा छौँ हामी । यस समयमा आफूले जसरी सकिन्छ अगाडि बढ्नुपर्ने हुन्छ । परिस्थितीलाई बुझेर निर्जिवन बीमा कम्पनीहरु पनि अघि बढिरहेका छन् । कोरोनाको संक्रमण पनि बढ्दो क्रममा रहेको छ । लक डाउन पनि लामो समय भइसकेको छ । अहिले नै अर्थतन्त्रमा बहुआयामिक असर गरिरहेको छ । अर्थतन्त्रकै एक हिस्सा भएका कारणले बीमा व्यवसायमा पनि असर परिरहेको छ । अवस्था सामान्य भएपछि पनि केही समय यसको असर रहन सक्ने सम्भावना रहेको छ । हामी निर्जिवन बीमा कम्पनीहरु हौँ । हाम्रो पोलिसी एक वर्षको हुन्छ । यसले गर्दा तत्कालीन रुपमा असर परेको देखिएको छैन, कार्यहरु संचालन भइरहेका छन् । यद्यपि, हामी पनि आर्थिक गतिविधि अन्तर्गतकै एक भएका कारण अर्थतन्त्रका सबै पाटोहरु प्रभावित भइरहँदा हामीमा पनि प्रभाव परेको छ । यद्यपि, यसको प्रभाव यति नै पर्छ भन्न सक्ने अवस्था छैन । समग्र आर्थिक परिस्थिती कस्तो रहन्छ र अप्ठेरो अवस्था कहिलेसम्म रहन्छ भन्नेमा भर पर्छ ।
कोरोना बीमाको काम सुरु
बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई कोरोना बीमालेख जारी गर्न निर्देशन दिएको छ । जसअनुसार आइतबारबाटै यसको शुभारम्भ पनि भइसकेको छ । हामी पनि यसको लागि तयारी अवस्थामा रहेका छौँ । अहिले सुरुको अवस्थामा हेर्दा यस विषयमा सबैले बुझ्ने काम भइरहेको छ । यसमा मानिसहरुले आफ्नो इच्छा देखाइरहेका छन् । यस हिसाबले हेर्दा कोरोना बीमा लेख प्रभावकारी हुने देखिन्छ । (प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यसँग बैंकिङ खबर डट कमले गरेको कुराकानीमा आधारित)




