२०७७ बैशाख ४ गते

“कोरोनाले विपन्न वर्ग र लघुवित्तमा दिर्घकालिन असर गर्छ “

बैकिङ खबर । लकडाउनका कारण विपन्न बर्गमा समस्या बढ्दै गएको छ । समाजमा धेरै विपन्न र गरीव परिवारका व्यक्तिहरु माइक्रोफाइनान्स कार्यक्रममा जोडिएका छन् । कोरोना प्रभाव र लकडाउनको प्रभाव नेपालको वित्तीय क्षेत्रमा र विशेषगरी माइक्रोफाइनान्स क्षेत्रमा बढी पर्ने देखिन्छ । नेपालको गरिवी घटाउन र ग्रामिण अर्थतन्त्र बढाउनमा महत्वपूर्ण भूमिका खेलेको माइक्रोफाइनान्सहरु यतिवेला क्षेत्र के गर्दै छन् ? यस्तो अबस्थामा माइक्रोफाइनान्सहरु कसरी अगाडि बढ्दैछन् ? लघुवित्तहरुको छाता संस्था लघुवित्त बैंकर्स संघका महासचिव तथा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव ज्यूसँग बैंकिङ खबरका लागि अपेक्षा ढुंगानाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

लकडाउनमा लघुवित्तहरुको सेवा कस्तो छ  ?
लघुवित संस्थाहरुको कारोवार पूर्ण रुपमै ठप्प नै छ । किनभने लघुवित्त संस्थाको कार्य गाउमा गएर समुह मार्फत गर्नुपर्ने भएको संदर्भमा हालको अवस्थामा कार्य सुचारु गर्न संभावनै छैन । तर ग्राहकहरुको अवस्था के कस्तो छ भनेर हामी विभिन्न माध्यमवाट सम्पर्कमै छौं । ग्राहकहरुलाई हालको अवस्थामा सुरक्षीत रहन आआफनो ठांउवाट चेतना अभिवृद्धीको कार्य गरिरहेका छौ । संभवभएसम्म स्थानीय नीकायहरुसंग सहकार्य गरेर हाम्रा सदस्यहरु मध्ये अति विपन्न जसलाई दुई छाक हात मुख जोर्न गाह्रो परेको सदस्यहरुलाई खाधान्नको व्यवस्था लगायत स्थानीय तहको कोरोना नियन्त्रणको प्रयासमा पनि कतिपय संस्थाहरुले सहयोग गरिरहेको अवस्था छ । कर्मचारीहरु पनि आ आफनो ठाउमा सुरक्षित भएर बसिरहेको अवस्था छ । सदस्यहरुलाई ध्यानमा राखेर केही अत्यावश्यक समस्या पर्लाकि भनेर संभवभएसम्म त्यस्तो अवस्थामा सेवा दिन सक्ने व्यवस्था मिलाएका छौ ।

लघुवित्तमा विपन्न वर्गहरु पनि सहभागी छन्, उनीहरुमा पनि कतिपय व्यक्तीहरु धेरैवटा लघुवित्तमा आवद्ध छन् ।  अबको अवस्थामा उनीहरुले लगेको कर्जा असुलीमा समस्या आउँदैन ?
हाल लकडाउनले गर्दा लघुवित्त मात्र होइन सम्पूर्ण क्षेत्रलाई नै असर गरेको अवस्था छ । त्यसमा पनि लघुवित्त अझ विपन्न वर्गहरुसँग काम गर्ने भएकाले त्यहाँ असर नहुने कुरै हुँदैन । मेरो विचारमा कोरोनाको कारणले सबैभन्दा बढी असर परेको विपन्न वर्गमा नै हो । बिपन्न बर्ग जो संग सिमित श्रोत साधन र बिकल्प हुदैन सब भन्दा बढी मारमा परेको त्यही बर्ग हो। सबैभन्दा बढी हालको अवस्थामा प्रभावित समुदाय संग काम गर्ने संस्था भनेको लघुवित संस्था हो । त्यसैले लघुवित संस्थाहरुमा असुलीको समस्या नआउने कुरै छैन् । उनीहरुको व्यवसाय बन्द भएको छ, परिवारवाट बिदेशमा गएकाको हालत गंभिर छ, दैनीक रोजगारी गरेर दैनिक गुजारा गर्नेको हालत गंभिर छ र उनीहरुसँग धेरै विकल्प पनि छैन यसकारण सबैभन्दा बढी उनीहरु मारमा परेका छन् । यस्तो अवस्थामा अब लकडाउन खुलेपनि तत्कालै असुली हुने सम्भावना भने निकै कम छ । त्यसबखत हामीले उनीहरुलाई केही समय दिनुपर्ने हुन सक्छ । अर्को कुरा कतिपय एउटै व्यक्तीले एक भन्दा बढी लघुवित्तहरुबाट लोन लिएको अवस्था पनि छ । यस्तो बेला सबै लघुवित्तहरु एकै पटक कर्जा असुलीमा जाँदा उनीहरुमा तत्काल तिर्न सक्ने सामथ्र्य हुँदैन । त्यसकारण उनीहरुको व्यापार, व्यवसायलाई फेरी पहिलेकै अवस्थामा ल्याएर मात्र कर्जा असुलीमा जानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा दुवैलाई सहज हुने वातावरण बनाई काम गर्नु अत्यावश्यक छ । लघुवित्त संस्थाहरु पनि संस्थागत ढंगले अघि बढ्नु पर्छ र सेवाग्राहीहरुले पनि आर्थिक आर्जन गरेर पैसा तिर्नुपर्छ भन्नेमा दायित्वबोध गर्नुपर्छ । जस्तो भुकम्पको बेलामा नेपाल राष्ट्र बैंकले कर्जा पुर्नतालिकिकरण पुर्नसंरचनाको सुविधा ल्याएको थियो त्यस विपतका बेला राष्ट्र बैंकको यस पोलीसीले धेरै राहत दिएको थियो । यसले संस्था र सेवाग्राहीलाई सहज बनाएको थियो । त्यस्तै अहिले पनि केही समय दिनैपर्छ समय दिएर कर्जा पुर्नतालिकिकरण पुर्नसंरचना कम्तिमा पनि १ वर्षका लागि गर्न सकियो भने उनीहरुमा बाँकी भएको कर्जाको किस्ता रकम कम हुन्छ ।
जस्तै, कुनै सेवाग्राहीले एक लाख कर्जा लिएको छ भने कर्जा लिँदाको किस्ता मानौ १० हजारका दरले लघुवित्तमा तिरीरहेको छ । हाल उसको पैसा तिरेर ५० हजारमा पुगेको छ । अब ५० हजारको उसको किस्ता कम भएर ५ हजारमा आयो । अर्को कुरा समय थपीएपछि ५ हजार पनि तिर्न पर्दैन । अब ५ हजारको ठाउँमा २ हजार तिर्दा पनि हुन्छ । यसरी उनीहरुको रकमलाई कम गरी भार कम पार्न सकिन्छ । र उनीहरुलाई विस्तारै तिर्नलाई पनि सहज हुन्छ । अवस्था पनि सामान्य हुँदै जान्छ सेवाग्राहीबाट रकम असुली हुन थालेपछि लघुवित्तले पनि राहत पाउँछन् ।

अरु वित्तीय क्षेत्रको तुलनामा लघुवित्तमा कारोना माहामारीले बढी असर गर्ने देखिन्छ हो ?
यो लघुवित्त क्षेत्रमा विपन्न वर्गले सेवा लिएको हुन्छन् जसको अन्य केही विकल्प हुँदैन । यसले लघुवित्तको केसमा केही चुनौती आउने भने पक्कै हो । भोली लकडाउन खुलेपनि कर्जा असुलीमा समस्या आउछ नै । लकडाउन खुल्ने बितिकै पनि काम सुरु भइहाल्ने सामान्य अवस्थामा आउन पनि समय लाग्छ । त्यसले गर्दा अहिले सबैभन्दा बढी मारमा पर्ने विपन्न वर्ग नै हुन् । यसले गर्दा यीनै विपन्न बर्गमा काम गर्ने लघुवित्तलाई असर नपर्ने कुरै भएन । उनीहरुको व्यसायमा ह्रास आयो अथवा आय स्रोत कम भएमा व्यक्ती र संस्था दुवैलाई समस्या पर्न सक्छ । यसका लागि उनीहरुको लागि केही राहत प्याकेजका साथ अघि बढ्न सके राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।

लघुवित्तलाई पुरानै अवस्थामा लैजान सरकार र नेपाल राष्ट्र बैंकबाट कस्तो पोलिसि वा राहतको आवश्यक्ता देख्नुहुन्छ ?
नेपाल राष्ट्र बैंकबाट कर्जा पुर्नतालिकिकरण र पुर्नसंरचना कम्तीमा एक वर्षका लागि ल्याउदा उपयुक्त हुन्छ जस्तो लाग्छ । त्यस्तै, हालको अवस्थामा सदस्यहरुलाई जिबिकोपार्जन र व्यवसायी संचालकोलागी दुबै दृष्टिकोणवाट हेर्नु पर्ने अवस्था छ । त्यसकोलागी ने.रा.बैंकको नीति एउटा व्यक्तिले बिनाधितो वा धितो लघुउधम कर्जा मध्ये एउटै कर्जा पाउनुपर्ने अवस्थालाई परिमार्जन गर्दा उपयुक्त हुन्छ होला । अर्को राष्ट्र बैंकले लघुवित्तका विपन्न वर्गलाई चैत्रको ब्याज बुझाउदा बुझाएको ब्याजको १० प्रतिशत सहुलियत दिएको छ । तर मेरो विचारमा हामिले वाणिज्य बैंकहरुबाट कर्जा लिन्छौ समग्रमा माइक्रोफाइनान्सले १८ प्रतिशत सम्ममा कर्जा लगानी गरेको अवस्था छ । १० प्रतिशत छुट गर्नुभन्दा पनि व्याजमै कम गर्न सकियो भने ग्राहकहरुका लागि यो ठुलो राहत हुन सक्छ । तर हामि आफैले यो ब्याज कम गर्न सक्ने अवस्था भने छैन । हामि पनि बैंक बित्तीय संस्थाहरुसंग कर्जा लिएर प्रदान गर्ने हो, अरु संस्थामै निर्भर छौं । लघुवित्त संस्थाहरु क, ख र ग को डिपेन्डेन्सीमा बाच्नु परेको अवस्था छ । मुख्यतः कर्जाको श्रोत र सोको मूल्यले कर्जाको प्रबाह र कर्जाको ब्याजदरको तयमा ठुलो भुमिका निर्वाह गर्छ । कर्जा हामिले नै बढीमा ल्याएपछि ग्राहकहरु पनि बढीमा पर्ने नै भए । यसकारण वाणिज्य बैंकहरुवाट होस, सर्वसाधारणवाट बचत संकलन गर्न दिने प्रावधान होस वा अन्य कुनै उपायवाट कसरी लघुवित्तले सहज र सस्तो कर्जा कोषको व्यवस्थापन गरेर ग्राहकहरुलाई आवश्यक्ता अनुसारको कर्जा सस्तो ब्याजदरमा दिन सकिन्छ भन्नेमा विशेष ध्यान जानु आवश्यक छ । ने.रा.बैंकले तोकेको स्प्रेड दर ९ प्रतिशत भित्र रहेर लघुवित संस्थाहरुको कर्जा कोषको लागत कम हुन वितिकै स्वतह सेवाग्राहीले सस्तो व्याजदरमा कर्जा पाउन सक्ने अवस्था सिर्जना हुन्छ । यहिलेको अवस्थामा पनि लघुवित संस्थाहरुले ने.रा.बैंकले तोकेको स्प्रेडरेटको अधिकतम सिमा भन्दा पनि संस्थाको क्षमताले भ्याएसम्म कम ब्याजदर तोकि सेवाग्राहीहरुलाई कर्जा प्रवाह गरिरहेको अवस्था छ ।
अर्को, लघुवित्तको संख्यात्मक बृद्धीको प्रभाव सकारात्मक र नाकारात्मक दुबै पक्ष आफनो ठाउमा छ । तर हालको अवस्थामा लघुवित संस्थाहरु कन्सोलिडेसनमा जानुको कुनै बिकल्प छैन । त्यस कारण संस्थाहरुको एक आपसको मर्जर वा एक्विजिसनको कार्यलाई अझ प्रभावकारी रुपमा बढाउनकोलागी ने.रा.बैंकले सरोकारवालाहरु संगको सहकार्यमा ठोस नीति र आकर्र्षक इन्सेन्टीभको प्याकेज ल्याई लघुवित्त संस्थाहरुको संख्यात्मक भन्दा बलियो, सक्षम र गुण्स्तर संस्थाको रुपमा बिकास गर्न उपयुक्त हुन्छ होला । त्यस्तै, लघुवित्त संस्थाहरुको लघुउधम बिकासमा योगदानको मापन गर्न सक्ने मापदण्ड बिकास गरि सोको प्रभावकारिताको अनुगमन गर्न सक्ने संयन्त्रको बिकाश गर्दा उपयुक्त हुन्थियो होला जस्तो लाग्छ ।

बैंकहरुमा ब्याज घटीरहेको छ । लघुवित्तमा ब्याजको अवस्था के कस्तो हुँदैछ, ब्याज घट्नेबारे केही छलफल भएको होला नी ?
कमर्सीयल बैंकहरुले हाल डिपोजिटमा बचत ब्याज घटाएका छन् । बचतमा ब्याज घट्यो भने कर्जामा पनि घट्न सक्ने सर्वमान्य सिद्धान्त नै हो । यसरी स्रोतको लागत कम भयो भने कर्जाको पनि ब्याज कम हुन्छ । तर लघुवित्तको केसमा भने हामिले बैंकहरुबाट जुन रकम लिएका छौं त्यो अहिले पनि ११ देखि १३ को बिचमा छ, अहिले पनि कम भएको छैन । मैले भनिहाले नि पहिलेको जस्तो अवस्था छैन अहिले ने.रा.बैंकले नै ब्याजको स्प्रेडदर तोकेको अवस्था छ । हाम्रो कर्जा कोषको लागत घटने हो भने स्वतः ब्याज घटाउनु पर्छ । तर बाणिज्य बैंकहरु जस्तो तत्काल ब्याज बढाउने र घटाउने कुरा लघुवित्त संस्थाहरुको फरक कार्यपद्धिती, ग्राहकहरुको बुझाइको लेभल र सफटवेयर आदिको कारणले फरेक्वीनटली अवलम्वन गर्न त्यति सहज छैन ।