April 7th, 2020

सरकारको दाबी : एक लाख बढीलाई राहत वितरण, तीन हजार जना क्वारेन्टाइनमा

बैंकिङ खबर । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको समीक्षा गरेको छ । समितिको मंगलबारको बैठकले गरेको समीक्षा अनुसार सरकारले लकडाउनको स्थितिको प्रभावमा परेका एक लाख १४ हजार तीन सय १६ जना परिवारलाई राहत वितरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीका अनुसार हाल ३० हजार पाँच सय जना व्यक्तिहरु विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका छन् । लकडाउनको अवज्ञा गर्ने दुई हजार छ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडिएको छ भने हजार दुई सय ३५ सवारी साधनहरुलाई कारबाही गरिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर एक हजार नौ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको सचिव विडारीले जानकारी दिएका छन् ।

कोभिड १९ को संक्रमणका कारण अर्थतन्त्रमा पर्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको छ ।