March 30th, 2020

कहिले होला अवस्था सामान्य ? यसो भन्छन् स्वास्थ्य विज्ञ

बैंकिङ खबर । मानिसहरु कोरोना भाइरसको महामारीबाट कहिले मक्ति पाइन्छ भनेर सोचिरहेका छन् । विगत केही महिनादेखि मानिसहरु घरमै बसिरहन बाध्य छन् । पब्लिक ग्यादरिङमा संसारभरि नै रोक लगाइएको छ । आर्थिक क्रियाकलापहरु ठप्प छन् । संक्रमण पनि बढ्दो क्रममा रहेको छ । स्वास्थ्य विशेषज्ञहरु कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाउत जुटेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अबको १२ हप्तामा देशको अवस्था सुधार आउने बताउँछन् । तर, स्वास्थ्य विज्ञहरुको भनाई अर्कै छ । आर्थिक र वित्तीय अवस्था जोगाउनेतर्फ मात्रै ध्यान दिएर हतारमा लकडाउन हटाउन खोजे भाइरस फेरि फर्किन सक्नेमा उनीहरु चिन्तित छन् । “लामो समयदेखि हामी यस अवस्थामा छौँ र अझै एक वा दुई महिना यसै अवस्थामा रहनुपर्ने हुन सक्छ,” स्वास्थ्य विज्ञ एरिक फेजिङले भने ।

कोरोनाबाट एक वा दुई हप्तामै छुट्कारा पाउन नसकिने स्वास्थ्य विज्ञहरुको भनाई छ । अहिलेसम्म कोरोना विरुद्धको भ्याक्सिन पत्ता लागेको छैन । भ्याक्सिन पत्ता लागेर सर्वसाधारणको पहुँचसम्म पुग्न धेरै समय लाग्ने उनीहरु बताउँछन् ।

लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले भ्याक्सिन पत्ता लगाउन कम्तीमा १८ महिना लाग्ने प्रक्षेपण गरेका छन् । भ्याक्सिन पत्ता लगाउनका लागि बेलायतका साथै चीन, अमेरिका लगायतका देश पनि प्रयासरत छन् । बेलायत, अमेरिका लगायतका देशमा पत्ता लगाइएको भ्याक्सिन नेपाल जस्तो देशका सर्वसाधारण पहुँच आइपुग्न झन् समय लाग्छ । त्यसबेलासम्म आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै बस्नुको विकल्प छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]