July 5th, 2016

पुनर्बिमा कम्पनीको व्यवसाय सार्क मुलुकमा विस्तारित

reinsuranceनेपाल पुनर्बिमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै जाने क्रममा सार्क मुलुकका बीमा कम्पनीहरुसँग पुनर्बिमा सम्झौता गरेको छ । भुटान तथा अफगानिस्तानस्थित बीमा कम्पनी तथा पुनर्बिमा कम्पनीले नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमाको सम्झौता गरिसकेका छन् । अफगानस्तानस्थित अफगान ग्लोबल इन्स्योरेन्स कम्पनीले २ करोड रुपैयाँ अर्थात कुल व्यवसायको ७.५ प्रतिशतको जोखिम नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराएको छ भने भुटानको भुटान इन्स्योरेन्स कम्पनीले कुल व्यवसायको ५ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ बराबरको पुनर्बिमा गरेको छ । भुटानकै पुनर्बिमा कम्पनी जीआईसी भुटान री कम्पनीले आफ्नो व्यवसायको करिब १० प्रतिशत अर्थात् ७५ लाख रुपैयाँ बराबरको पुनर्बिमा गरेको छ । सरकारी कम्पनीमा जोखिम कम हुने भएकाले अन्तर्राष्ट्रिय बीमा कम्पनीले हामीलाई विश्वास गरेको बताइन्छ ।

हाल सार्कस्तरमा व्यवसाय विस्तार गरेको कम्पनीले आगामी वर्षदेखि भने व्यवसायलाई अन्य मुलुकमा पनि विस्तार गर्ने योजना बनाएको छ । अरबी मुलुकहरू, इरान, ओमनलगायतका मुलुकबाट पुनर्बिमाका लागि प्रस्ताव आइरहेको र ती क्षेत्रहरू आफ्नो अधिकारभित्र नपर्ने भएकाले पुनर्बिमा गर्न नपाएको कम्पनीले जनाएको छ । आगामी वर्षदेखि भने क्षेत्रअधिकार विस्तार गरी ती कम्पनीहरूको पुनर्बिमा गरिने योजना कम्पनीको छ ।  

पुनर्बिमा के हो ? नेपाल पुनर्बिमा कम्पनी के हो ?
बिमा कम्पनीले सर्वसाधारणको जोखिम बहन गर्छन् । त्यस्तै, बिमा कम्पनीले पनि आफ्नो क्षमताभन्दा बढी जोखिम भएमा फेरि बीमा गराउँछन् । जसलाई पुनर्बिमा भनिन्छ । यसरी पुनर्बिमा गर्दा पुनर्बिमा कम्पनीको रेटिङ आधारमा गरिन्छ । यसका लागि कम्पनी स्थापना भएको तीन वर्ष हुनुपर्छ । तर, नेपालमा पुनर्बिमा कम्पनीको रेटिङ हुनुअगावै सार्क मुलुकमा बिमा कम्पनीहरूले बिमा गराएका छन् । नेपाल पुनर्बिमा कम्पनीको नेपालको पहिलो पुनर्बिमा कम्पनी हो । नेपालस्थित बिमा कम्पनीहरूले अन्तरराष्ट्रिय कम्पनीसँग पुनर्बिमा गर्दा वार्षिक ३ अर्बभन्दा बढी बाहिरिँदै आएको थियो । सोही क्रमलाई रोक्न नेपाल सरकार तथा बीमा कम्पनीहरूको लगानीमा उक्त कम्पनीको स्थापना भएको हो । कम्पनीमा जीवन बिमा कम्पनीहरूको १८.०६, निर्जीवन बीमा कम्पनीहरूको ३८.३९ प्रतिशत र नेपाल सरकारको ४३.५५ प्रतिशत हिस्सा छ । दुई वर्षअघि स्थापना भएको नेपाल पुनर्बिमा कम्पनीले नेपाली बीमा कम्पनीहरूको कुल व्यवसायको कम्तीमा पनि ५ प्रतिशत पुनर्बिमा गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ ।