बैंकिङ खबर । बैंकिङ क्षेत्रले सावधानीका साथ कर्मचारी परिचालन गरेका छन् । बैंकिङ क्षेत्रलाई अत्यावसेक सेवाका रुपमा राखिएको छ । भुकम्प, नाकाबन्दी तथा दशैं तिहारको समयमा समेत सेवा प्रदान गर्दै आइरहेका बैंकका कर्मचारीले कोरोना संक्रमणको जोखिम मोलेर सेवा प्रदान गरेका छन् । सबैजसो बैंकहरुले आफ्ना कर्मचारीलाई सुरक्षार्थ मास्क, पन्जा र स्यानिटाइजरलाई अनिवार्य बनाएका छन् । बैंकमा आउने ग्राहकका लागि समेत स्यानिटाइजर अनिवार्य गरिएको छ । बैंकिङ क्षेत्रले चेक डिपोजीट तथा क्लियरिङ एवं नगद भुक्तानी कार्यलाई आआफ्नो अनुकुल विभिन्न शाखाबाट सेवा संचालन गरेका छन् ।
सबै बैंकले कुनै न कुनै शाखाबाट बैंकिङ कारोबार गरिरहेका छन् भने एटीएम, ब्रान्चलेस तथा प्रविधिलाई बढी प्रयोगमा ल्याएका छन् । बैंक वित्तीय क्षेत्रलाई यस अघि नेपाल राष्ट्र बैंकले सावधानीका साथ कम कर्मचारी परिचालन गरी सेवा चसुचारु गर्न निर्देशन दिएको थियो । सोही अनुसार बैंकिङ सेवा सूचारु रहेको छ । बैंकिङ एवं वित्तीय क्षेत्रले संस्थागत रुपमै सेवा सूचारु गर्दा ध्यान दिनेगरी आबश्यक प्रकृया अघि बढाएका छन् । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्तीय संस्था संघले सामुहिक रुपमा डिजिटल कार्यलाई बढी ध्यान दिन प्रयोगकर्तालाई आग्रह पनि गरेका छन् । बैंकिङ क्षेत्रले कोरोना सन्त्रास तथा संक्रमणको यो अबस्थालाई ध्यान दिएर सम्पूर्ण डिजिटल सेवा निशुल्क गरेका छन् । जस अनुसार कुनै पनि बैंकको एटीएम कार्ड जुनसुकै बैंकको एटीएममा प्रयोग गर्दा समेत निशुल्क गरिएको छ । बैंकिङ तथा वित्तीय क्षेत्र सूचारु रहँदा कर्मचारी भने केही फुर्सदीला बनेका छन् । ग्राहकको भिडभाड दिनप्रतिदिन घट्न थालेको छ । आइतबारको तुलनामा सोमबार ग्राहकको चाँप अत्यन्तै कम रहेको उनीहरुले जनाएका छन् ।