बैंकिङ खबर । संघीयता अनुसार बैंक तथा वित्तीय संस्थाहरुको संरचना परिवर्तन गर्नु असम्भव जस्तै देखिएको छ । राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई राष्ट्रिय र प्रदेशस्तरीयमा विभाजन गरेको छ । पहिले एक जिल्ले, तीन जिल्ले, १० जिल्ले र राष्ट्रिय स्तर गरी वित्तीय संस्थाहरुको विभाजन गरिएको थियो । सो आधारमा शाखा विस्तार गर्दै गएका वित्तीय संस्थालाई प्रदेश स्तरमा कायम हुन अप्ठेरो स्थिती सिर्जना भएको छ ।
क्षेत्रीय स्तरमा कारोबार गर्नेमा प्रायः माइक्रोफाइनान्स कम्पनीहरु छन् । त्यस्तै, केही फाइनान्स कम्पनीहरु र विकास बैंकहरुले पनि क्षेत्रीय स्तरमा आफ्नो कारोबार संचालन गरिरहेका छन् । जिल्लागत आधारमा शाखा विस्तार गर्दै लगेका यी वित्तीय संस्थाहरुको शाखा प्रदेशगत आधारमा हिसाब गर्दा एकभन्दा बढीमा पर्न जान्छ । एक वा सो भन्दा बढी प्रदेशमा शाखाहरु भएका वित्तीय संस्थालाई त्यस्ता शाखाहरु बन्द, बिक्री वा स्थानान्तरण गरेर एउटै प्रदेशमा कारोबार गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । थोरै जिल्लामा कार्यक्षेत्र भएका साना वित्तीय संस्थाहरुको पनि २।३ वटा प्रदेशमा शाखा रहेको छ । यस्ता संस्थाहरुको शाखा एउटै प्रदेशमा सार्न कठिन हुने देखिन्छ ।
अहिले १३ वटा विकास बैंकहरुले क्षेत्रीय स्तरको कारोबार गरिरहेका छन् । जसमध्ये, सहारा र सालपा एक जिल्ले छन् भने सहयोगी विकास बैंक विलय हुने क्रममा छ । बागमती प्रदेशको एक जिल्ला, गण्डकी प्रदेशको एक जिल्ला र प्रदेश नं. ५ को पाँच जिल्लामा कार्यक्षेत्र भएको तिनाउ मिसनको राष्ट्रिय स्तरमा जाने योजना रहेको छ ।
बाँकी १० मध्ये, दुई वटा विकास बैंकको कार्यक्षेत्र एक प्रदेशभन्दा बढीमा रहेको छ । राष्ट्र बैंकद्धारा प्राप्त कार्यक्षेत्र जिल्ला अनुसार, तीन जिल्ले नारायणीको शाखा बागमती र गण्डकी प्रदेशमा रहेको छ । तीन जिल्ले कर्पोरेट डेभलपमेन्ट बैंकको कार्यक्षेत्र प्रदेश नं. २ को एक जिल्ला र बागमती प्रदेशको दुई जिल्लामा छ । त्यस्तै, तीन वटा क्षेत्रीय स्तरका फाइनान्स कम्पनीमध्ये मल्टिपर्पोज फाइनान्स एक जिल्ले रहेको छ भने तीन जिल्ले जानकारी फाइनान्सको कार्यक्षेत्रअन्तर्गत सबै जिल्ला प्रदेश नं. २ मा रहेका छन् । सृजना फाइनान्सको कार्यक्षेत्र प्रदेश नं. १ का दुई वटा र प्रदेश नं. २ को एउटा जिल्लामा रहेको छ ।
थोरै जिल्लामा कार्यक्षेत्र र शाखा संख्या भएर पनि एकभन्दा बढी प्रदेशमा फैलिनेमा माइक्रोफाइनान्सहरु बढी छन् । ४ देखि १० जिल्ला कार्यक्षेत्र भएको नयाँ नेपाल लघुवित्त तीन वटा प्रदेशमा फैलिएको छ । १५ जिल्ला कार्यक्षेत्र रहेको मिथिला पनि तीन प्रदेशमा फैलिएको छ । त्यस्तै, नागबेली दुई प्रदेशमा, जनउत्थान छ वटा प्रदेशमा, किसान दुई वटा प्रदेशमा, महुली तीन वटा प्रदेशमा फैलिएका छन् । मिर्मिरे, सूर्योदय, समता, सामुदायिक, उन्नति, सपोर्ट, आरम्भ, चौतारी, घोडीघोडा, नेपाल एग्रो, आँधीखोला, स्वाभिमान, स्पर्श, त्रिलोक, मनकामना, सहकार्य लगायत जिल्लागत रुपमा कार्यक्षेत्र बनाएका प्रायः माइक्रोफाइनान्सहरुको कार्यक्षेत्रअन्तर्गत पर्ने जिल्लाहरु एकभन्दा बढी प्रदेशमा फैलिएका छन् ।
एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका र शाखा विस्तार गरिसकेका वित्तीय संस्थाहरुमध्ये केही क्रमशः विस्तार हुँदै राष्ट्रिय स्तरमा जाने सुरसारमा छन् । अधिकांश भने एकै प्रदेशमा शाखा सार्नुपर्ने वाध्यात्मक अवस्थामा छन् । पहिले नै शाखा स्थापना गरी कारोबार सुरु गरिसकेका वित्तीय संस्थालाई शाखा स्थानान्तरण गरी नयाँ ठाउँमा स्थापित गर्न गाह्रो मात्रै हैन खर्च पनि बढी लाग्छ भने पहिले भइरहेका ग्राहकहरु छोडी नयाँ ग्राहक बनाउनुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा ती वित्तीय संस्थाहरुलाई प्रदेश स्तरमा जाने निर्देशन निल्नु न ओकल्नु जस्तै भएको छ ।