February 28th, 2020

बीमकको सूचना प्रविधि मार्गदर्शन जारी, केके छन् व्यवस्था ?

बैंकिङ खबर । बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गरेको छ । मार्गदर्शनमा बीमा कम्पनीले वेवसाइट निर्माण गर्नुपर्ने उल्लेख गर्दै वेवसाइटमा उल्लेख गर्नुपर्ने विषयहरु समेत स्पष्ट पारेको छ ।

मार्गदर्शन अनुसार, बीमा कम्पनीहरुले वेभसाइट खोल्ने वित्तीकै देखिने गरी ठेगाना, टेलिफोन नम्बर, फ्याक्स, इमेल, नक्सा र स्थान सहितको तस्विर देखिने गरि राख्नुपर्नेछ ।
बीमकको उच्च व्यवस्थापकीय अधिकृत तथा, विभागीय प्रमुखहरुको तस्विर सहितको विवरण, सूचना अधिकारीको मोबाइल नम्बर पनि राख्नुपर्ने छ ।
सेवाग्राहीको कुन कामको लागि कति समय लाग्ने हो र त्यसको लागि सम्पर्क गर्ने अधिकृतको नाम र पद सहितको नागरिक वडापत्र पनि राख्नुपर्ने छ ।
बीमा कम्पनीले कुन बीमालेख खारेज गरेको छ र कुन प्रचलनमा रहेको छ त्यसको विवरण पनि राख्नुपर्ने छ ।

बीमकसँग कुनै वा संस्थाले बीमा गर्न चाहेको खण्डमा बीमा गर्ने प्रक्रिया, दाबी गर्ने प्रक्रिया लगायतको बारेमा जानकारी गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । त्यस्तै, उच्च अधिकारी, कर्मचारी तथा आवश्यकता अनुसार बीमा मध्यस्तकर्ताहरुले समेत प्रयोगमा ल्याउने सक्ने खालको सूचना प्रविधि प्रणाली हुनुपर्ने भनिएको छ । सबै शाखा, उपशाखा तथा सम्पर्क कार्यालयहरुमा कार्यरत कम्तीमा अधिकृतस्तरका कर्मचारीहरुको औपचारिक व्यक्तिगत इमेल ठेगानाको व्यवस्था गर्नुपर्ने समेत मार्गदर्शनमा उल्लेख छ ।

बीमक आफैँले एकै समयमा सबै ठाउँमा चल्ने गरी फिजिकल डेटा सेन्टर राख्नुपर्ने भएको छ । बीमकले आवश्यकता अनुसार मोबाइल एप तथा अन्य प्रकारका एप पनि प्रयोगमा ल्याउन सक्नेछन् । बीमकले नयाँ बीमालेख जारी गर्दा, नविकरण गर्दा, भुक्तानी गर्दा वा प्राप्त गर्दा विद्युतीय भुक्तानीका माध्यमहरु समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]