६२ प्रतिशत भूकम्पपीडित नयाँ घरमा बस्न थाले, ७० प्रतिशतले लिए तेस्रो किस्ता

बैंकिङ खबर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । ज्ञवालीले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताए ।

कुन घर किन बनेन भन्नेबारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए। प्राधिकरणले देशभर ७० प्रतिशत भूकम्पपीडित निजी आवास बनाउन तेस्रो किस्ता प्रदान गरिएको बताए । उनका अनुसार ६२ प्रतिशत भूकम्पपीडित नयाँ निजी आवासमा बसोबास गर्न थालेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेको बताए । उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणको काम तीव्ररुपमा भइरहेको जानकारी दिए । छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाइ थियो ।

पाल्पामा भूकम्पबाट क्षति भएका ११४ विद्यालयका ३४८ कोठा निर्माण गर्ने कार्य भइरहेको उनले बताए। प्राधिकरणका प्राविधिक भूकम्पपीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ। प्राधिकरणले भूकम्पपीडितलाई वित्तीय र प्राविधिक सहयोग मात्र प्रदान गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *