February 17th, 2020

अर्थमन्त्रीले सुने बैंकर्सका समस्या, समाधानका लागि कमिटि गठन

बैंकिङ खबर । बैंकरहरुले स्प्रेडको गणनाविधि पुनर्विचार गरिदिन अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष आग्रह गरेका छन् । अर्थमन्त्री, अर्थसचिव, दुवै डेपुटी गभर्नर, सामाजिक सुरक्षा कोषका प्रमुख र सबै वाणिज्य बैंकका सीईओहरुबीच सोमबार भएको छलफलमा स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण बैंकको नाफा प्रभावित भएको भन्दै बैंकर्सले पुनर्विचार गर्न आग्रह गरेका हुन् । बैंकर्सको आग्रहप्रति अर्थमन्त्री पनि सकारात्मक देखिए । उनले डेपुटी गभर्नरहरुतर्फ इंगित गर्दै राष्ट्र बैंकलाई यस विषयमा पुनर्बिचार गर्न निर्देशन दिए ।

कर नीतिका कारण कर्जाको माग घट्यो
बैंकरहरुले सरकारको कर नीति र सम्पत्ति शुद्धिकरण नीतिका कारण कर्जाको माग घट्दै गएको पनि जानकारी गराए । सरकारले चालू आर्थिक वर्षदेखि लागू गरेको बैंक र कर कार्यालयमा एउटै अडिट रिपोर्ट बुझाउनुपर्ने व्यवस्थाका कारण साना व्यवसायीहरुलाई समस्या परेको बैंकर्सको गुनासो थियो । बैंकबाट कर्जा लिनका लागि कर तिरेको प्रमाणपत्र आवश्यक पर्ने नीतिका कारण पनि कर्जाको माग कम भएको बैंकर्सको गुनासोमा भने सकारात्मक हुँदै अर्थमन्त्रीले करको नीतिमा सरकार केही लचिलो हुने आश्वासन दिए । कर समस्या समाधानका लागि करको स्ल्याब तोक्ने उनले बताए । सम्पत्ति शुद्धिकरणको विषयमा भने अन्तर्राष्ट्रिय कानुन मान्नुपर्ने उनले बताए । तर पनि आफ्नो देशअनुकुल केही लचकता अपनाउने आश्वासन उनले दिए ।

बैंकिङ कसूरको विद्यमान व्यवस्थामा संशोधन गर्नुपर्ने भए लिखित सुझाव दिन पनि अर्थमन्त्रीले आग्रह गरे । उनले बैंकरहरुलाई व्याजदर स्थिर राख्न समेत निर्देशन दिए । त्यस्तै, उनले सामाजिक सुरक्षा कोषमा बैंकर्सको असहमति हटाउने पनि बताए ।

छलफलमा उठेका समस्याको समाधान गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र नेपाल बैंकर्स संघका प्रतिनिधि रहनेगरी कमिटि पनि गठन गरिएको छ । उक्त कमिटिले तयार पारेको प्रतिवेदनका आधारमा आवश्यक नीतिगत परिवर्तनहरु गर्ने आश्वासन अर्थमन्त्रीले दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]