Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वर्षेनि भित्रिएको खरबौँ रेमिट्यान्स : अधिकांश हिस्सा उपभोग्य वस्तुमै खर्च

२०७६ माघ १४ गते

बैंकिङ खबर । नेपालमा विप्रेषण आप्रवाह क्रमशः बढ्दै गएको देखिए तापनि आप्रवाहको वृद्धिदरमा कमी आउन थालेको छ । आर्थिक वर्ष २०६५।६६ मा रु.२०९ अर्ब विप्रेषण आप्रवाह रहेकोमा यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५।७६ मा रु.८७९ अर्ब पुगेको नेपाल राष्ट्र बैंककमे तथ्यांक छ । तथापि, वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षहरुमा विप्रेषणको वृद्धिदर कम हुँदै गएको छ ।

आर्थिक वर्ष २०७०।७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै गई आर्थिक वर्ष २०७१।७२ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७२।७३ मा ७.७ प्रतिशत, आर्थिक वर्ष २०७४ मा ४.६ प्रतिशत, आर्थिक वर्ष २०७४।७५ मा ८.६ प्रतिशत र आर्थिक वर्ष २०७५।७६ मा १६.५ प्रतिशतले बढेको देखिन्छ । आर्थिक वर्ष २०७६।७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा केहि कमी आएको छ । आर्थिक वर्ष २०७६।७७ को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आई रु.३०४ अर्ब ९७ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०६५।६६ मा कुल विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २१.२ प्रतिशत रहेकोमा यस्तो अनुपात क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७२।७३ मा २९.६ प्रतिशत पुगेको थियो। आर्थिक वर्ष २०७५।७६ मा सो अनुपात २५.४ प्रतिशत रहेको छ ।

कुन देशबाट बढी आउँछ रेमिट्यान्स ?
व्यक्तिगत स्वीकृतिमा १७२ वटा देशहरुमा नेपालीहरु कामका लागि गएका छन् । जसमध्ये, मूख्य गन्तव्य खाडी मुलुक नै बनेको छ । चालू आर्थिक वर्षको प्रथम चार महिनाको तथ्यांक हेर्दा सबैभन्दा बढी रेमिट्यान्स कतारबाट भित्रिएको छ । कतारबाट १७.७ प्रतिशत अर्थात ५३ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । त्यसपछि धेरै रेमिट्यान्स आउने मुलुकहरुमा क्रमशः भारत, युएई, साउदी अरेयिबा, मलेशिया, अमेरिका, जापान, कुवेत, बहराइन, कोरिया, बेलायत र अष्ट्रेलिया रहेका छन् ।

केमा हुन्छ खर्च ?
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७१।७२ मा १६ जिल्लाका जम्मा ३२० घरपरिवारमा गरेको स्थलगत सर्वेक्षण र सोका आधारमा तयार गरिएको अध्ययन “विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति” अनुसार विप्रेषण रकमको २५.३ प्रतिशत अंश ऋण तिर्नमा, २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग गर्ने गरेको देखिएको छ । विप्रेषण रकमको २८.० प्रतिशत बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्र (व्यापार÷व्यवसाय) मा लगानी भएको देखिएको छ ।

विप्रेषणको रुपमा भित्रिने रकमको अधिकांश हिस्सा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिएतापनि यसले स्वास्थ्य, शिक्षा लगायत घर परिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको छ भने लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको छ ।

Ad