पाँच महिनामा ६११ बैंक शाखा थपिए, ७४३ स्थानीय तहमा वाणिज्य बैंक

बैंकिङ खबर । पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ६११ वटा नयाँ शाखा विस्तार गरेका छन् । गत असार मसान्तदेखि मंसिर मसान्तसम्ममा क, ख, ग र घ वर्गका वित्तीय संस्थाले उक्त संख्यामा शाखा विस्तार गरेका हुन् ।

यो अवधिमा वाणिज्य बैंकहरुले ३६८ शाखा विस्तार गरेका छन् भने विकास बैंकहरुले २३ वटा शाखा विस्तार गरेका छन् । त्यस्तै, फाइनान्स कम्पनीहरुले २४ र लघुवित्त वित्तीय संस्थाहरुले १९८ वटा नयाँ शाखा विस्तार गरेका छन् ।

सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने सरकारी योजना लगभग पुरा हुन लागेको छ । कुल ७५३ स्थानीय तहमध्ये मंसिर मसान्तसम्ममा ७४३ वटामा कुनै न कुनै वाणिज्य बैंकले शाखा स्थापना गरी सेवा संचालन गरेका छन् । १० वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकको उपस्थिती छैन ।

प्रदेश पाँचका सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १।१ स्थानीय तह वाणिज्य बैंकविहीन छन् । प्रदेश ३ को दुई र सुदुरपश्चिम प्रदेशका चार वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको छ ।