June 30th, 2016

बहसमा यात्री बीमा शूल्क : यस्तो छ, समिति र व्यवसायीबिच बाझिएको कुरो

moneyआगामी वर्षका लागि सर्वजनिक बजेटमा यात्री बिमांक रकम बढाउने व्यवस्था गरिएपछि बीमा समितिले बिमाशुल्क पनि वृद्धि गर्ने तयारी गरेको छ । यद्यपि, यात्री बीमा शूल्क विवादित बनेको छ । बिमा समिति र यातायात व्यवसायीबीच यात्री बीमा योजनाको बिमाशुल्कमा विषयमा सहमति जुट्न नसकेको हो । समिति र व्यवसायीबीचको असहमतिका कारण नयाँ यात्री बिमालेख जारी हुन नसक्दा योजना नै अघि बढ्न सकेको छैन । 

हाल यात्री बिमांक रकम १ लाख रुपैयाँ र बिमाशुल्क रकम प्रतिसिट १ सय ५० रुपैयाँ रहेकोमा सरकारले बिमांक रकम ५ गुणाले बढाएर ५ लाख रुपैयाँ पुर्याउने गरी नयाँ व्यवस्था लागू गर्न लागेको छ । बिमाशुल्क पनि सोही अनुपातमा बढाएर प्रतिसिट ७ सय ५० पुर्याउनुपर्ने बिमा समितिको तर्क छ । यसै बिषयमा यातायात व्यवसायीसँग सहमति हुन सकेको छैन । यातायात व्यवसायी भने यस्तो प्रतिसिट ५ सय रुपैयाँ राखिनुपर्ने अडानमा छन् ।  

बीमा समितिको हालको व्यवस्थाअनुसार सवारी साधनको तेस्रो पक्ष बिमा योजनाको बिमांक रकम ५ लाख रुपैयाँ छ । त्यस्तै, घाइते भएको अवस्थामा दिइने मेडिकल खर्च रकम २ लाख रुपैयाँ छ । एउटै सवारी साधनको दुर्घटनाबाट मृत्यु भएका तेस्रो पक्ष र यात्रीको बिमांक रकम फरक–फरक हुँदा यात्रीलाई पनि तेस्रो पक्ष बनाएर झूठो दाबी धेरै आउने गरेकाले यात्री बिमांक रकमलाई पनि तेस्रो पक्ष सरह बनाइनु आवश्यक रहेको समितिको भनाइ छ । यता सरकारले यात्री बिमांक रकमलाई बढाउँदा यातायात व्यवसायीलाई भने मर्का परेको व्यवसायीहरूको गुनासो छ । 

बीमा समितिले नयाँ व्यवस्थासहितको यात्रीलेख आगामी साउनदेखि नै लागू गर्ने तयारी गरेको छ । यसका लागि यातायात व्यवसायीलाई सहमतिमा ल्याउने प्रयासस्वरुप छलफल भइरहेको छ ।