बैंकिङ पहुँचमा कायापलट आएको समय

बैंकिङ खबर । विगत केही वर्ष यता नेपालको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आएको छ । वित्तीय साक्षरता अभिवृद्धि र वित्तीय पहुँच विस्तारका कारण मानिसहरु बचत गर्न थालेका छन्, उद्यमशीलतातर्फ लागेका छन्, बैंकबाट कारोबार गर्न थालेका छन् ।

आजभन्दा पाँच वर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच खासै विस्तार भएको थिएन । ३० वटा वाणिज्य बैंक, ८४ वटा विकास बैंक, ५३ वटा वित्त कम्पनी र ३३ वटा माइक्रोफाइनान्स गरी कुल २०० बैंक तथा वित्तीय संस्था संचालनमा थिए । यी संस्थाहरुका कुल ३४३० शाखा संचालनमा थिए । संघीयता लागू भएपश्चात् सरकारले सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति लियो । जसपश्चात् अहिले ७३९ वटा स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन् । माइक्रोफाइनान्स र विकास बैंकले पनि गाउँगाउँमा शाखा विस्तार गरि सेवा दिइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार, नेपालमा २७ वाणिज्य बैंक, २८ विकास बैंक, २२ वित्त कम्पनी र ८९ लघुवित्त वित्तीय संस्था छन् । यी संस्थाहरुको कुल शाखा संख्या झन्डै नौ हजार पुगेको छ ।

बैंकहरुको शाखा मात्रै बढेका छैनन्, बैंकिङ प्रणालीको प्रयोग गर्नेहरुको संख्या पनि बढेको छ । बैंकहरुले गाउँगाउँमा गएर शाखा वा शाखारहित बैंकिङमार्फत सेवा दिन थालेपछि खाता खोल्नेहरुको संख्या पनि बढेको छ । राष्ट्र बैंकले हालै गरेको अध्ययनले एक लाख ८० हजार निक्षेप खाता रहेको देखाएको छ । यसबाहेक प्रविधिको प्रयोगका कारण पनि बैंकिङ प्रयोगकर्ता बढेका छन् । ठाउँठाउँमा एटिएम स्थापना हुन थालेपछि र कार्डबाटै होटल, पसल लगायतको बिल भुक्तानी हुने भएपछि बैंकिङ कार्ड प्रयोकर्ता बढ्न थालेका छन् । फलस्वरुप पाँच वर्षअघि ४० प्रतिशत रहेको बैंकिङ पहुँचको अवस्था अहिले ६०.९ प्रतिशत पुगिसकेको छ ।

देशभरीमा बैंक तथा वित्तीय संस्थाका ३३१६ वटा एटिएम स्थापित छन् । २०७१ असार मसान्तमा जम्मा १६५२ वटा एटिएम थिए । यी पाँच वर्षमा डेबिट कार्डका प्रयोगकर्ता ४१ लाख ३१ हजार दुई सय ४२ बाट बढेर ६७ लाख आठ हजार पाँच सय २१ पुगेका छन् । त्यस्तै, क्रेडिट कार्डका प्रयोगकर्ता ५७ हजार आठ सय ९८ बाट बढेर एक लाख २३ हजार एक सय ४६ पुगेका छन् ।

इन्टरनेट भएपछि घरमै बसेर मोबाइलबाटै सपिङ, टिकट बुकिङ, रिचार्ज, अन्य बिल भुक्तानी लगायतका काम गर्न सकिने सुविधा पनि बैंकहरुले दिन थालेपछि मोबाइल र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । मोवाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ । यस अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ ।

बैंकिङ पहुँच वृद्धिसँगै गाउँगाउँमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर उद्यम गर्नेहरु बढेका छन् । विदेशमा सिकेर आएको सीपको प्रयोग गरी कृषि व्यवसायमा लागेका थुप्रै उदाहरणहरु गाउँगाउँमा भेटिन थालेका छन् । मानिसहरुमा बचत र लगानीबारे चेतना जागृत हुन थालेको छ । समग्रान दीर्घकालीन आर्थिक विकासको बाटो सिर्जना भएको देख्न सकिन्छ ।

अधिकाँस स्थानीय तहमा बैंकिङ पहुँच

 सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने राष्ट्र बैंकको नीति लगभल पूरा हुन लागेको छ । ७५३ स्थानीय तहमध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोलिसकेका छन् । बाँकी १४ स्थानीय तहमा पनि छिटै वाणिज्य बैंकको शाखा पुग्ने राष्ट्र बैंकको दाबी छ ।

हाल २८ वटा वाणिज्य बैंक संचालनमा छन् । जिल्लाका हिसाबले सबैमा वाणिज्य बैंकको उपस्थिती रहेको छ । तर, जिल्लामा जाँदा त्यहाँका सुगम सहर एवम् सदरमुकाममा मात्रै शाखा खोल्ने परिपाटीका कारण सर्वसाधारणहरुको बैंकसम्म पहुँच पुग्न सकेको थिएन । एक त बैंकबाट कारोबार गर्नुपर्छ भन्ने नै थाहा नभएका सर्वसाधारण, त्यसमाथि नजिकै बैंक पनि पुगेको थिएन । जसकारण, उनीहरुको पैसा कि त व्याजमा लगाइन्थ्यो, कि त सिरानीमुनी राखिन्थ्यो । यसो गर्दा, ग्रामीण भेगमा रहेका थुप्रै पुँजीहरु राष्ट्रिय अर्थतन्त्रमा जोडिन सकेका थिएनन् ।

यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले अब जिल्लामा नभएर सबै स्थानीय तहमा नै शाखा पुर्याउनुपर्छ भन्ने नीति ल्यायो । हुन त, विकास बैंक र लघुवित्तका शाखा ग्रामीण भेगसम्म पुगेका छन् । तर, सरकारले स्थानीय तहको बजेट वाणिज्य बैंकमार्फत विनियोजन गर्ने भएपछि यो अनिवार्य पनि भएको थियो । त्यसैले, राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई नै ग्रामीण तहसम्म जान प्रोत्साहन गर्यो र अन्ततः अहिले पूर्ण रुपमा सफलता हासिल गर्ने क्रममा रहेको छ ।