January 11th, 2020

एउटै होइनन् सहकारी र बैंकिङ (हेर्नुस् फरक पक्ष)

बैंकिङ खबर । सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सोमा व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रीक ढंगबाट नियमित स्वायत्त उद्यमको रुपमा परिभाषित गरेको छ ।

थोरै लागतमा पनि संचालन गर्न सकिने भएकाले प्रायः ग्रामीण भेगलाई केन्द्रित गरेर नेपालमा सहकारीको विकास गर्न खोजिएको छ । गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ सहकारी क्षेत्रको विकास र विस्तारमा जोड दिएको सरकारले सहकारीलाई तीन खम्बे अर्थनीतिमध्येको एक मानेको छ । यद्यपि, व्यवस्थापन, नियमन र अनुगमन प्रभावकारी ढंगले गर्न नसक्दा सहकारीहरु बढी नै आलोचित र अविश्वसनीय बन्दै गइरहेका छन् ।

वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना भएपछि नेपालमा सहकारीको संस्थागत विकास भएको पाइन्छ। हालसम्म आइपुग्दा सहकारीको संख्यात्मक विकास तिव्र गतिमा भएको पाइन्छ, जसमा थुप्रै युवाले रोजगारी पनि पाएका छन् । यद्यपि, जनविश्वास जित्नृ कुरामा पनि सहकारी क्षेत्र पछाडी परेको पाइन्छ । मानिसहरुले बैंकलाई जति विश्वास सहकारीलाई गर्दैनन् । यसका कारणहरु निम्न हुन सक्छन्ः

नियमन
सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा सहकारी विभागको हो । यद्यपि, अहिले सहकारीको संख्या यति धेरै भएको छ कि त्यसको प्रभावकारी नियमन, व्यवस्थापन र अनुगमनमा सरकार चुकेको छ । यता, बैंकिङ क्षेत्रलाई नेपालको सबैभन्दा व्यवस्थित क्षेत्र मानिन्छ । बैंकिङ क्षेत्रको नियमनमा नेपाल राष्ट्र बैंकले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ ।

सुशासन
सहकारीका संचालकहरु नै निक्षेपकर्ताको पैसा खाएर भाग्ने गरेको घटना धेरै सुन्ने गरिन्छ । बैंकिङ क्षेत्रमा यस्ता घटना अलि कम नै हुन्छन् । नियामकको निर्देशनअनुसार चल्नुपर्ने भएकाले बैंकहरुमा सुशासन कायम रहेको हुन्छ । हत्तपत्त कसैले बैंकमा रहेको निक्षेप हिनामिना गर्न सक्दैन । सहकारीमा यो कुराको अभाव रहेको छ ।

प्रविधिको प्रयोग
बैंकहरुमा थुप्रै अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरु भित्रिसकेका छन् । यसले गर्दा ग्राहकहरु कारोबार गर्न सुरक्षित महशूस गर्छन् । सहकारीमा प्रविधिको खासै प्रयोग हुन सकेको पाइँदैन । त्यसैले, मानिसहरु सहकारीमा पैसा राख्न रुचाउँदैनन् ।

पारदर्शीता
सहकारीको तुलनामा बैंकहरुको काम बढी पारदर्शी हुन्छ । बैंकहरुको गतिविधिहरु बैंकका वेभसाइटमा नै पाइन्छन् । राष्ट्र बैंकसँग पनि हरेक कुराको रेकर्ड हुन्छ । मोबाइल बैंकिङ लगायतको प्रयोगबाट घरमै बसेर आफ्नो खाताको अवस्था हेर्न मिल्ने सुविधा बैंकहरुले प्रदान गर्दछन् । सहकारी क्षेत्रमा यस किसिमको सुविधा हुँदैन ।

व्याजदर
बैंकिङ क्षेत्रको व्याजदर व्यवस्थित हुन्छ । बजारको माग र राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले कर्जा र निक्षेपको व्याजदर तय गर्दछन् । सहकारी क्षेत्रमा व्याजदर मनपरी ढंगले निर्धारण गरिन्छ । विपन्न वर्गको उत्थानका लागि स्थापना भएका सहकारीहरु नाफामुखी बढी बन्दै गइरहेका छन्, सहरकेन्द्रित बन्दै गइरहेका छन् ।

यसबाहेक, बैंकहरु राष्ट्र बैंकको निर्देशन बमोजिम निश्चित पुँजीमा संचालन भएका हुन्छन् । बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिष्पर्धी बनाउने कुरामा राष्ट्र बैंक सदैव जुटिरहेको हुन्छ । यसकारण बैंकिङ क्षेत्रप्रति जनविश्वास बढी रहेको पाइन्छ । विपन्न वर्गमा केन्द्रित हुनुपर्ने सहकारी स्रंस्थाहरुले विपन्न वर्गकै मन जित्न नसकिरहेको अवस्था छ ।

यद्यपि, सहकारी क्षेत्रलाई प्रभावकारी नियमन गर्दै अगाडी बढाउने हो भने नेपाल जस्तो विकासोन्मुख देशमा यसले ठूलो भूमिका खेल्न सक्छ । बैंकहरुको पहुँच पुग्न नसकेको स्थानमा वित्तीय कारोबार संचालन गर्न सहकारीलाई परिचालन गर्न सकिन्छ, किनकि यो बैंक जस्तो खर्चिलो हुँदैन । गाउँघरकै मानिसहरुद्धारा संचालन हुने हुँदा रोजगारी सिर्जना पनि हुन्छ । साथमा बचत गर्ने बानीको विकास हुन्छ । सहकारीको कर्जाबाट स्थानीय स्तरमै उद्यमशीलता विकास गर्न सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]