एउटा बैंकर ‘अमृतचरण श्रेष्ठ’ अख्तियारले कार्बाही गर्दा शिवराजले जोगाए, अब के हुन्छ ?

बैंकिङ खबर । एउटा विवादास्पद व्यक्ति कसरी बैंकको सिइओमा नियुक्ति भए ? कसरी लामो समय टिकिरहेका छन् ? के उनलाई नियुक्ति गर्ने संचालक समिति कार्बाहीमा पर्छ ? वा उनी आफै कार्बाहीमा पर्छन् ? यतिबेला यो बहस निकै चर्चाको विषय बनेको छ । कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ नेपाल राष्ट्र बैंकमै चर्चा भएका व्यक्ति मानिन्छन् । उनको चर्चा डेपुटी गभर्नर शिबराज श्रेष्ठसँग जोडिएर फेरि व्यूतिँएको छ । कैलाश विकास बैंकको संचालक समितिले २०७४ जेठ १४ गतेदेखि लागू हुने गरी अमृतचरण श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठले पछिल्लो पटक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए । उनलाई अनियमितता गरेपछि हटाइएको हो । एनसीसी बैंकमा रहँदा श्रेष्ठले बीरगञ्जको कृष्णा मोडर्न दाल उद्योगलाई आफ्नो अधिकार पाँचकरोडको सिमा नाघेर १८ करोड रुपैयाँ ऋण दिएका थिए । सोही विषयमा कर्जा दुरुपयोग गरेको भन्दै अख्तियारले छानविन गरेर कार्बाही गर्ने निर्णय राष्ट्र बैंकमा पठाउँदा शिवराज श्रेष्ठको एक्लो हठका कारण उनी जेल जानबाट जोगिएका थिए । यतिवेला डेपुटी गभर्नर श्रेष्ठ आफै कार्बाहीको दायरामा छन् । फलस्वरुप यीनको चर्चा फेरि सुरु भएको छ । डेपुटी गभर्नर श्रेष्ठलाई मन्त्री परिषदले विभिन्न विषयमा अनियमितताको आरोपमा छानविन गर्न पत्राचार गरेको थियो । उनीमाथि छानविन हुँदै गर्दा स्वतह निलम्वनमा परे । उनका बारे केहीदिनमै निर्णय हुने छ । तर यी सिइओ अमृतचरण श्रेष्ठ अहिले पनि कैलाश विकास बैंकको सिइओमा आशिन छन् । उनीमाथिको कार्बाही अब के होला ?