पछिल्लो समय बाउन्स चेकको समस्या बढेको पाइएको छ । बैंक खातामा पैसा नभए पनि चेक जारी गर्ने तर भुक्तानी लिन जाँदा रकम शून्य हुने प्रवृत्ति बढेको पाइएको छ । देशभर एक वर्षमा १ अर्ब हाराहारी चेक बाउन्स हुने गरेको प्रहरीको अनुमान छ । चेक ठगीमा सबैभन्दा बढी घरजग्गा कारोबार, हाउजिङ, वैदेशिक रोजगार, होटल, रेस्टुराँ, उद्योग, शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)लगायत क्षेत्रमा आवद्ध व्यक्ति संलग्न रहेको प्रहरी अनुसन्धानले देखाउँछ । प्रहरीका अनुसार लाखौं रकमको चेक जारी गरे पनि खातामा भने ५० रुपैयाँदेखि २ हजारसम्म मात्र हुने गरेको भेटिएको छ । अपारदर्शी कारोबारबाट हुने लेनदेनमा पीडित–पीडक विवाद चेक बाउन्समा आएर जोडिने गरेको प्रहरी अधिकारी बताउँछन् ।
व्यक्ति वा संस्थाले खातामा भएको रकमभन्दा बढी भुक्तानी हुने गरी चेक जारी गरे त्यसलाई नेपाल राष्ट्र बैंकले ‘चेक बाउन्स’ भनी परिभाषित गरेको छ । केही वर्षअघिसम्म चेक बाउन्सलाई ठगीका रूपमा लिए पनि अहिले यस्तो अभियोगलाई बैंकिङ कसुरका रूपमा चित्रण गरिएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन २०७२ अनुसार खातामा पैसा नहुँदा चेक जारी गरे सम्बन्धित खातावाललाई कालोसूचीमा राखेर पनि कारबाही गर्न सकिने व्यवस्था छ । अदालतले यसविरुद्ध बैंकिङ कसुरमा दोषी ठहर गर्न सक्छ ।
भुक्तानीका निम्ति दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । पटकपटक एउटै चेक बाउन्स भएमा त्यसलाई बैङ्किङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीनपटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने व्यवस्था छ ।
अर्बौं रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स भएपछि नेपाल राष्ट्र बैङ्कले समयसमयमा यस सम्बन्धमा निर्देशन जारी गर्दै आएको छ । पछिल्लो निर्देशनले फर्म, कम्पनी, संस्था तथा कार्यालयको नाममा खिचिएका (भुक्तानीका लागि जारी भएका) चेकहरू अनिवार्य रूपमा एकाउण्टपेयी हुनुपर्ने व्यवस्था पनि गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले खिचेका चेकहरूको अग्रभागको खाली स्थानमा अनिवार्य रूपमा चेक राइटर लगाउन पनि राष्ट्र बैङ्कको पछिल्लो निर्देशनमा उल्लेख छ । सो निर्देशनले चेकमा लेखिएको रकम अङ्क र अक्षरमा फरक परे अक्षरलाई मान्यता दिन सकिने पनि व्यवस्था गरेको छ । त्यसैगरी, बैङ्क तथा वित्तीय संस्थाको चेकको अग्रभागमा अन्य संस्थाको क्रस छाप वा कुनै पनि छाप लगाउन नपाइने, इलेक्ट्रोनिक चेक क्लियरेन्सको इमेज प्राप्त हुने भएकाले त्यसका पछाडि कालो रङमा डिजिटल हस्ताक्षर अनिवार्य हुनुपर्नेछ ।


