बैंकिङ खबर । मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । यो संख्या मलेसिया पठाइएमा मलेसियाबाट घटेको रेमिट्यान्समा बृद्धि हुने अपेक्षा गरिएको छ ।
लामो समयदेखि अवरुद्ध मलेसिया वैदेशिक रोजगारीका लागि गत अक्टोबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो । बैदेशिक रोजगारका लागि महत्वपूर्ण गन्तव्यको रुपमा मलेसियालाई लिइएको भएपनि पछिल्लो समय फ्रि भिसा र फ्रि टिकटको नीति पछि मलेसिया जाने नेपालीको संख्या ह्वात्तै घटेको छ । वैदेशिक रोजगारीको लागि आकर्षक श्रम गन्तव्य मुलुक मलेसियामा नेपाली कामदार लैजान अहिले करिब ३१ हजार बढी नेपाली कामदार माग भएको क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाए अनुसार ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण भइसकेको छ ।
पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका कुल ३१ हजार २ सय १ जना नेपाली कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको छ । जसमध्ये औद्योगिक क्षेत्रमा १७ हजार ११६ जना, सेवा क्षेत्र सुरक्षा गार्डसहित १० हजार १८३ जना, कृषि क्षेत्रमा १ हजार ४७५ जना, प्लान्टेसनतर्फ १ हजार ३९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जनाको मागपत्र फाइलिङ भएको दूतावासले जनाएको छ । धेरै रेमिटन्स भित्रिने मुलुकका रुपमा रहेको मलेसियाबाट पछिल्लो समय रेमिट्यान्समा गिरावट आउनुका साथै नेपालीहरु कम मात्रै गएका छन् । जहाँ नेपालीको काममा मलेशियाले बंगालीहरुलाई लिँदै गएको छ ।