November 19th, 2019

ग्लोबल आईएमई र जनता बैंक मिलेर नेपालकै ठूलो बैंक बन्दै, मंसिरभित्रै एकीकृत कारोबार थाल्ने तयारी

बैंकिङ खबर । ग्लोबल आईएमई बैंकले जनता बैंकसँगको मर्जर साधारणसभाबाट पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ । मंसिर महिनाभित्रै एकीकृत कारोबार सुरु गर्ने योजना रहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।

सोमबार सम्पन्न साधारण सभाले बैंकको अधिकृत पूँजी १६ अर्बलाई बृद्धि गरी २५ अर्ब कायम गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै,  गत आर्थिक वर्षको मुनाफाबाट १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]