November 14th, 2019

एभरेष्ट बैंकको नाफा ६९ करोड, बाँड्न मिल्ने कति ?

बैंकिङ खबर । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड आठ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ९.०८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ३० करोड ८४ लाख ७९ हजार मात्रै रहेको छ ।

आठ अर्ब १० करोड ६८ लाख ६३ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा छ अर्ब ९६ करोड ७१ लाख ३२ हजार राखेको छ । तीन महिनामा बैंकले एक अर्ब ४३ करोड २५ लाख १९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ९.३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ३१ करोड छ लाख २५ हजार रुपैयाँ थियो ।

एभरेष्टले निक्षेपमा १२.४१ प्रतिशत र कर्जामा १२.८१ प्रतिशतको वृद्धि हासिल गरेको छ । गत असोज मसान्तसम्ममा बैंकले एक खर्ब ३४ अर्ब ७४ करोड ४९ लाख ८५ हजार रुपैयाँ निक्षेप पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप संकलन एक खर्ब १९ अर्ब ८६ करोड ४९ लाख पाँच हजार रुपैयाँ थियो । त्यस्तै, बैंकको कर्जा प्रवाह एक खर्ब नौ अर्ब ५३ करोड ८२ लाख पाँच हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९७ अर्ब नौ करोड ५४ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको सिसिडि रेसियो ७५.८९ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ०९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २ सय २६ रुपैयाँ सात पैसा रहेको छ । यस्तै पुँजीकोष अनुपात १३.७९ प्रतिशत, खराब कर्जा शुन्य १७ प्रतिशत, आधार ब्याजदर ८.५२ प्रतिशत, कोषको लागत ६.३८ प्रतिशत र स्प्रेड रेट ५.२५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]