November 7th, 2019

बैंकिङ कारोवारका नाममा ठगी गर्ने व्यक्ति तीन वर्षपछि पक्राउ

बैंकिङ खबर । बैंकिङ कारोवारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौँ साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँको २०७३ असोजको फैसलाअनुसार बैंकिङ कारोवारका नाममा ठगी गरेकामा दोषी ठहर गर्दै अधिकारीलाई एक वर्ष कैद र रु २६ लाख ७५ हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

फरार रहेका अधिकारीलाई पक्राउ गरीे जिल्ला अदालत चितवनमा पेश गरिएकामा आजै अदालतले कैद भुक्तानका लागि भरतपुर कारागार चलान गरेको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए ।

केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरेको तथा निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी भागेपछि जाहेरी परेको थियो । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]