Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयरको भित्री कारोबार गर्नेलाई १५ लाखसम्म जरिवाना, छ वर्षसम्म कैद

२०७६ भाद्र २६ गते

बैंकिङ खबर । सेयर बजारमा भित्री कारोबार गर्नेलाई १५ लाखसम्म जरिवाना र छ वर्षसम्मको कैद सजाय हुने भएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गरेको धितोपत्र ऐनलाई संशोधन गर्न बनेको विधयेकमा यस्तो प्रस्ताव गरिएको छ ।

भित्री कारोबार गरेको ठहरेमा विगो खुलेमा बिगो बराबरको जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव विधयेकमा गरिएको छ । बिगो नखुले ५ लाख जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय गर्ने उल्लेख छ ।

झुटो कारोबार गरेमा, मूल्यमा कृत्रिम उतारचढाव गराएमा, बजारलाई प्रभावित गरेमा बिगो खुलेको भए बिगो बराबरको जरिवाना गराउने, वा ३ बर्ष कैद वा दुवै गर्न सक्ने प्रस्ताव विधयेकमा छ । बिगो नखुलेको भए डेढ लाख देखि ४ लाखसम्म जरिवाना वा ३ बर्ष कैद वा दुवै हुन सक्ने प्रस्ताव गरिएको छ ।

झुक्याउने विवरण दिएमा, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा, जालसाजीयुक्त कारोबार गरेमा, र लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा बिगो खुलेको भए बिगो बराबरको जरिवाना वा ६ बर्ष कैदको ब्यबस्था प्रस्ताव गरिएको छ । बिगो नखुलेको भए ६ बर्ष कैद वा ३ देखि ५ लाख सम्म जरिवाना वा दुवै हुन सक्नेछ ।

प्रस्तावित विधेयक अनुसार कसैले जानीजानी वा बदनीयत साथ विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले १ लाख देखि ६ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

त्यस्तै, कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानी नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई ५ देखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने ब्यब्स्तः विधयेकमा प्रस्ताव गरिएको छ।

सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा कसैले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफुलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ ।