September 9th, 2019

दशैँका लागि नयाँ नोट असोज १४ गतेदेखि

बैंकिङ खबर । दशैँका लागि नयाँ नाृट असोज १४ गतेदेखि पाइने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुमा गएर नोट साट्न पाइनेछ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।

चिनेजानेकाहरुलाई बाँडेर पैसा सकाएको गुनासो आएपछि निजी क्षेत्रका बैंकलाई यसपाली कम मात्र नोट उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ । निजी क्षेत्रका बैंकलाई साढे तीन करोडदेखि ११ करोड रुपैयाँ बराबरको नोट वितरणका लागि दिने राष्ट्र बैंकले जनाएको छ । सरकारी बैंकहरुले माग्न आउनेजतिलाई नयाँ नोट वितरण गर्नेछन् ।

नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ भने राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ ।

राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालयहरू र उसको मातहतमा सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि नोट वितरण गर्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]