September 8th, 2019

कसरी बन्ने बीमा अभिकर्ता ? केके छन् सफलताका सुत्रहरु ?

बैैंकिङ खबर । बीमा कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको उतिर्ण गरेको हुनुपर्दछ । यस्ता व्यक्तिले जो कोही पनि बीमा अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समीति वा सम्बन्धित बिमकले सञ्चालन गरेको बीमा अभिकर्तासम्बन्धी तालिम लिएको हुनुपर्दछ । त्यसपछि उसले बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समीतिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

बीमा अभिकर्ताहरुको काम
बीमा कम्पनीको तर्फबाट प्रतिनिधीको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बिमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बिमितको परिवारलाई आवश्यक सहयोग गर्ने आदि कार्य हुन् । बीमा अभिकर्ताले प्रत्येक बीमालेख बिक्री गरेपश्चात् बिमकको तर्फबाट सो बापत प्रचलित बीमा नियमावली बमोजिम तोकिएको दरमा कमिसन प्राप्त गर्दछ ।

शैक्षिक योग्यता
बीमा अभिकर्ता हुनका लागि शैक्षिक योग्यता कति हुनुपर्छ ? धेरै मानिसहरुको जिज्ञासा हुन सक्छ बीमा अभिकर्ता बन्नका लागि कति शैक्षिक योग्यता चाहिन्छ वा के पढेको हुनु पर्दछ? तर, बीमा अभिकर्ता बन्न वा हुनका लागि यो पढेको वा यति नै शैक्षिक उपाधि हासिल गरेको हुनु पर्छ भन्ने छैन् । तर पनि बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहिले पनि अभिकर्ता बन्न सक्नेछन् ।

बीमा अभिकर्ताको भुमिका
बीमा अभिकर्ताको हातमा धेरै जिम्मेवारी रहेको हुन्छ । बीमा क्षेत्रलाई अगाडि बढाउने देखि लिएर बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ । निश्चित सीमा र परिधिमा साथै कम्पनिको नीतिमा रही अभिकर्ताले काम गर्नु पर्छ । असल बीमा अभिकर्ता कै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढ्दछ । त्यसैले असल बीमा अभिकर्ताको खाँचो बीमा क्षेत्रमा खड्किदो छ । अभिकर्ता बीमा कम्पनिको ग्राहक वृद्धि गर्ने एक मूख्य माध्यम हो । बीमा कम्पनिहरुलाई मानिसको पहुँचमा पुर्याउने र बीमा बजारमा साथै सर्वसाधरणमा बीमा कम्पनिको नीतिहरु पुर्याउन बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

बीमाबारे पूर्ण ज्ञान
बीमा शिक्षा र पहुँच बढाउने मूख्य जिम्मेवारी बीमा अभिकर्ताको हुन्छ । तर, बीमा अभिकर्तामै पूर्ण ज्ञान नहुँदा सर्वसाधारणले बीमाबारे राम्रो जान्ने बुझ्ने मौका नै पाएका हुँदैनन् र बीमा गर्न तयार भएका हुँदैनन् । सर्वसाधारण आफैँले बीमाको महत्व बुझेर बीमा गर्न थालुन् भन्नाका लागि पहिले बीमा अभिकर्तालाई दक्ष बनाउनुपर्छ । कम्पनीका तर्फबाट जनतासँग जोडिने माध्यम नै अभिकर्ता भएकाले अभिकर्ताहरुमा राम्रो बीमा शिक्षा हुनु आवश्यक छ । वास्तवमा बीमा शिक्षा अभिवृद्धि र बीमा पहुँच विस्तारमा अभिकर्ताको भूमिका नै मूख्य हुन आउँछ । जीवन बीमा कम्पनीहरुको ९० प्रतिशत विजनेश बीमा अभिकर्तामार्फत आउने गर्दछ । तर, नेपालको सन्दर्भमा हेर्दा, बीमा अभिकर्ताहरुमा नै बीमा सम्बन्धी ज्ञानको अभाव भएको ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री बताउँछन् ।

बुझाउन सक्ने क्षमता 
कतिपय अभिकर्तामा ज्ञान भएर पनि मानिसहरुलाई बुझाउन सक्ने क्षमताको अभाव भएका कारण पनि समस्या भएको छ । बीमा अभिकर्ताहरु सर्वसाधारणलाई बुझाएर भन्दा पनि बीमा गरिदिनुस्, नत्र मेरो मेरा जागीर जान्छ भनेर आग्रह गर्ने हिसाबले प्रस्तुत हुने गरेको समेत पाइन्छ । कतिपयले त काम गरेको देखाउने मात्रै हिसाबले आफ्नै आफन्तहरुलाई बीमा गर्न आग्रह गर्ने गरेको पाइन्छ । वास्तविक लक्षित वर्गमा पुगेर बीमाको फाइदाबारे राम्रोसँग बुझाएर बीमाप्रति आकर्षण बढाउने खालका बीमा अभिकर्ता बीमा कम्पनीहरुले खोजिरहेका हुन्छन् ।

बीमा अभिकर्तामा हुनुपर्ने व्यक्तिगत गुणहरु
सकारात्मक सोच, सधैँ आशावादी, व्यवहारमा सन्तुलन, हरेस नखाने, नैतिकतावान्, योजनावद्ध रुपमा कार्य गर्नु, नेतृत्व क्षमता, आफ्नो काममा प्रतिवद्ध, आकर्षक व्यक्तित्व, समयको ख्याल गर्ने जस्ता गुणहरु एक सफल अभिकर्तामा हुन जरुरी हुन्छ ।आआफ्नै कला, आआफ्नै सिद्धान्त, तौरतरिकामा आधारित रहेर काम गर्दा अभिकर्ता पेशामा सफल बन्न सकिने अभिकर्ताहरु बताँउछन् । लचकपन, मिठासपन, विषयवस्तु प्रति पूर्ण ज्ञान, समय चलायमान जस्ता गुणहरु बीमा अभिकर्तामा हुनु पर्दछ । मेहनत, धैर्य गर्ने क्षमता, लगनशीलता र विषयवस्तुको पूर्ण अभिकर्तामा हुनु पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]