June 21st, 2016

वित्तीय क्षेत्रमा शेयर बजारको प्रभाव : अन्तरबैंक व्याजदर ३.४४ प्रतिशत पुग्यो 

stockबैङ्कहरूले आपसमा लिने–दिने सापटीको अन्तरबैङ्क ब्याजदर बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, विगत केही महिनादेखि लगातार बढिरहेको यस्तो व्याजदर चालू आर्थिक वर्षको पहिलो दश महिनामा ३.४४ प्रतिशत रहेको छ । यस्तो व्याजदर गत वर्षको तुलनामा ३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा अन्तरबैंक व्याजदर ०.४४ प्रतिशत मात्रै रहेको थियो । अन्तरबैङ्क ब्याजदर बढ्नु भनेको वित्तीय क्षेत्र थप सक्रिय भई लगानीका क्षेत्रहरू विस्तार तथा वृद्धि हुँदै जानु हो ।
 
शेयर बजारको प्रभाव
दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको शेयर कारोबारमा आएको बढोत्तरी र शेयर बजार परिसूचक नेप्सेमा देखिएको लगातारको वृद्धिका कारण बैंक तथा वित्तीय क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको विज्ञहरुको ठहर छ । शेयर बजार उकालो लाग्न थालेदेखि नै अन्तरबैंक कर्जा बढिरहेको पाइएको छ । यस्तो कर्जा गत पुसमा ०.२५ प्रतिशतको हाराहारीमा थियो । त्यसैगरी औसत अन्तरबैंक ब्याजदर गत चैतको तुलनामा वैशाखमा समेत १.८५ प्रतिशत बढेको छ । गत चैतमा यस्तो ब्याजदर १.५९ प्रतिशत रहेको थियो । शेयर बजार लगातार उकालो लागेको अवस्थामा वित्तीय प्रणालीको ब्याजदर न्यून हुँदा ऋण लिएर शेयरमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुँदा कर्जाको माग र ब्याजदरसमेत बढेको विज्ञहरु बताउँछन् । 

अन्य वित्तीय संस्थाको अन्तरबैंक व्याजदर घट्यो
वाणिज्य बैङ्कहरूको सापटी लिने दिने कर्जाको ब्याजदर बढे पनि अन्य वित्तीय संस्थाहरूबीचको अन्तरबैङ्क ब्याजदर भने केही घटेको छ । २०७२ वैशाखको तुलनामा २०७३ वैशाखमा आइपुग्दा १.१६ प्रतिशत वाणिज्य बैङ्कबाहेकका वित्तीय संस्थाहरूको अन्तरबैंक व्याजदर घटेको राष्ट्र बैंकको तथ्यांक छ । गत चैतमा विकास बैङ्क तथा फाइनान्सहरूबीचको अन्तर कारोबारको ब्याजदर १.५२ प्रतिशत रहेकोमा २०७२ चैतको १ महिनाको अन्तरमा वैशाखमा आइपुग्दा उक्त ब्याजदर १.२३ प्रतिशत बढेर २.७५ प्रतिशत पुगेको छ । तरलताको अभाव नभएकाले अन्तर–बैङ्क कारोबारमा विकास बैङ्क तथा फाइनान्सले भन्दा वाणिज्य बैङ्कहरूले प्राथमिकता पाउँदा अन्य वित्तीय संस्थाको यस्तो ब्याजदर घटेको हो । 

व्याजदर अन्तरमा देखिएन प्रभाव
चालू आर्थिक वर्षको पहिलो १० महिनाको अवधिको विवरणलाई हेर्दा वाणिज्य बैङ्कहरूको कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड)मा भने खासै प्रभाव परेको छैन । २०७२ वैशाखमा ४्६२ प्रतिशत रहेको कर्जा तथा निक्षेपको ब्याजदर अन्तर २०७३ वैशाखमा ४.६३ प्रतिशत छ । गत चैतको तुलनमा वैशाखमा वाणिज्य बैङ्कहरूको कर्जा तथा निक्षेपको ब्याजदर ०.४ प्रतिशत घटेको हो । गत चैतमा यस्तो ब्याजदर ४.७९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा वाणिज्य बैङ्कहरूले ७ खर्ब ७७ अर्ब ७२ करोड रुपैँया र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैङ्कहरूबीच बाहेक)ले ७३ अर्ब १३ करोड रुपैँयाको अन्तर–बैङ्क कारोबार गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूले रू. ८ अर्ब ५५ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् ।