August 11th, 2019

अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठीको आयोजना गरी वार्षिकोत्सव मनाउँदै BFIN

बैंकिङ खबर । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लि. (BFIN) ले प्रथम वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन तालिमको आयोजना गर्ने भएको छ । साउन २९ गते काठमाडौं स्थित होटल हायात रिजेन्सीमा आयोजना गर्न लागिएको उक्त गोष्ठीमा भारत तथा नेपालका वित्तीय क्षेत्रका विज्ञहरुवाट विषय केन्द्रित टिप्पणी प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यस कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गर्नेछन् । विहान ९ वजे देखि वेलुकी ६ वजेसम्म संचालन हुने उक्त कार्यक्रममा निम्नलिखित ३ विषयहरुमा छलफल तथा टिप्पणी गरीने कार्यक्रम रहेको छ ।

१) जोखिम व्यवस्थापनको नियामक र निरिक्षणात्मक दृष्टिकोण
यस विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र र बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले अध्यक्षता गर्ने यस सत्रमा मुख्य गरी नेपालको वित्तीय क्षेत्रमा देखिएका जोखिमहरु र केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि लिएको नीतिगत व्यवस्थाका व्यवहारिक पक्षहरु बारे व्यापक छलफल गरिनेछ ।

२) ठूला तथा साना आयोजनाहरुमा गरीने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरु
यस विषयमा भारतको सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस. श्रीधर तथा जनता बैंक नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सत्रको अध्यक्षता नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले गर्नेछन् । नेपालको विकासका लागि पूर्वाधार विकास अत्यन्त महत्वपूर्ण रहेको र यस्ता ठूला परियोजनाहरुमा लगानी गर्दा अपनाउनु पर्ने प्रकृया तथा त्यसमा देखिने जोखिमहरुको मूल्यांकन गर्ने यो सत्रको उद्देश्य रहेको छ । यसै गरी साना तथा मझौला परियोजनाहरुमा लगानी गर्दा बैंकले कसरी जोखिमहरुको मूल्यांकन गर्ने भन्ने बारे पनि छलफल गर्ने यस सत्रको उद्देश्य रहेको छ ।

३) यान्त्रिक परिवर्तन र वित्तीय एवम् वीमा क्षेत्रमा देखा पर्ने जोखिमहरु
कार्यक्रमको यो सत्रमा वित्तीय क्षेत्रमा प्रविधिको विकास र यसवाट उत्पन्न जोखिमहरुवारे छलफल गरिनेछ । यस अन्तर्गत वित्तीय क्षेत्रको प्रविधि विकास र यसवाट उत्पन्न जोखिमहरुबारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्नेछन् । यसै गरी बीमा क्षेत्रमा प्रविधिको विकास र यसबाट उत्पन्न जोखिम बारे बिरला इन्स्टिच्युट अफ मेनेजमेन्ट टेक्नोलोजी(BIMTECH) का प्राध्यापक मनोज कुमार पाण्डेले कार्यपत्र प्रस्तुत गर्नेछन् । यस सत्रमा बैंक तथा बित्तीय क्षेत्रसँग सम्बन्धित जोखिमहरुबारे नेपाल इन्भेष्टमेण्ट बैंक लि.का नायब महाप्रवन्धक विजेन्द्र सुवाल र बीमा क्षेत्रसंग सम्वन्धित जोखिमहरुबारे सूर्या लाईफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले धारणा राख्नेछन् ।

कार्यक्रममा केयर रेटिङ्गस् नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जोखिम र रेटिङ्ग का बीचको अन्तरसम्बन्धबारे जानकारी गराउनेछन् । कार्यक्रमलाई प्रमुख सुत्रधारका रुपमा बिएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले संचालन गर्नेछन् ।

अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी कार्यक्रमका बारेमा जानकारी दिँदै बिएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले भने, “प्रविधिको विकासले वित्तीय क्षेत्रमा धेरै अवसर प्रदान गरेको भएतापनि यसले जोखिमहरु पनि उत्तिकै उत्पन्न गर्दछ । प्रविधिको क्षेत्रमा Data Fraud & Theft, Cyber Attacks, Critical Information Infrastructure Breakdown जस्ता जोखिमहरु तथा मानव संसाधनको क्षेत्रमा Anger, Negative Attitude, Unsocial Behavior, Work-Life Imbalance, Technology Addiction जस्ता धेरै जोखिमहरु देखा पर्न सक्ने भएकाले यस्ता समस्याहरुको विषयमा छलफल गर्ने उद्देश्यले यो गोष्ठीको आयोजना गरिएको हो ।”

यस कार्यक्रमका मुख्य प्रायोजक एनआईसी एशिया बैंक लिमिटेड र रेनल्ट गाडिका वितरक एडभान्स अटोमोबाइल्स प्राली रहेका छन् भने बिरला इन्स्टिच्युट अफ मेनेजमेन्ट टेक्नोलोजी, जनता बैंक नेपाल लि., कुमारी बैंक लि., एभरेष्ट बियर, केयर रेटिङ्स नेपाल लिमिटेड, एनसीसी बैंक, नेपाल एसबिआई बैंक लि., ग्लोबल आईएमई बैंक लि., माछापुच्छ्रे बैंक लि., राष्ट्रिय बाणिज्य बैंक लि., कर्मचारी संचय कोष, सूर्या लाईफ इन्स्योरेन्स कं. लि., एलआईसी नेपाल र होटल बडीले सह—प्रायोजकका रुपमा सहभागिता जनाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]