बैंकिङ खबर । सरकारको निर्देशनबमोजिम लघुबिमा व्यवसाय विस्तारमा बिमा कम्पनीहरू असफल देखिएका छन् । सरकारले कम्पनीहरूलाई आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबिमा व्यवसाय गर्न निर्देशन दिएको छ । तर, कम्पनीहरूले मुस्किलले १ प्रतिशत मात्रै लघुबिमा व्यवसाय गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५/७६ को ९ महिनासम्ममा कम्पनीहरूमा कुल लघुबिमा व्यवसायको हिस्सा १ दशमलव ३३ प्रतिशत मात्रै छ । तर, जारी भएको लघुबिमा लेखका आधारमा भने लघुबिमाको हिस्सा १० प्रतिशत पुगेको छ ।
न्यून आय भएका वर्गलाई बिमाको दायरामा समेट्ने लक्ष्यसहित बिमा समितिले लघुबिमा योजनाको व्यवस्था गरेको हो । समितिले लघुबिमा योजनाको बिमांक रकम र बिमाशुल्क न्यून तोकेको छ । लघुबिमाको दायरा बढाउन सरकारले गत आवको बजेटमार्फत आगामी दुई वर्षभित्रमा सबै कम्पनीलाई आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबिमा व्यवसाय गर्नसमेत निर्देशन दिएको छ ।
कुल व्यवसायको साढे एक प्रतिशत मात्रै लघुबिमा
समितिको तथ्यांकअनुसार गत आवको चैतसम्म बिमा कम्पनीहरूले ५३ अर्ब ४८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल बिमा संघद्वारा सञ्चालित लघुबिमा पुलमार्फत जारी गरिएको लघुबिमाबापत कम्पनीले ७१ करोड ३९ लाख रुपैयाँ आर्जन गरेका छन् । साथै जीवन बिमा कम्पनीहरूले आफैँले गरेको लघुबिमा व्यवसायबाट ७४ करोड ६७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् भने निर्जीवन बिमा कम्पनीहरूले २२ करोड ८८ लाख रुपैयाँ संकलन गरेका छन् । यो रकम कम्पनीहरूको कुल व्यवसायको करिब १ दशमलव ३३ प्रतिशत मात्रै हो ।
१० प्रतिशत लघुबिमा योजना जारी
सरकारको निर्देशनअनुसार बिमा कम्पनीहरूले आफ्नो कुल व्यवसायको १० प्रतिशत लघुबिमा व्यवसाय गर्न नसके पनि लघुबिमा लेखको हिस्सा भने १० प्रतिशत पुर्याएका छन् । समितिको तथ्यांकअनुसार गत आवको चैतसम्मको तथ्यांकअनुसार कम्पनीहरूले ७४ लाख ६६ हजार ४ सय ६८ बिमालेख जारी गरेका छन् । जसमध्ये लघुबिमा पुलमार्फत ७ लाख ४९ हजार १ सय ४० वटा बिमालेख जारी गरिएको छ । जीवन बिमा कम्पनीले आफैँले भने ६ लाख ७१ हजार १ सय ४४ बिमालेख जारी गरेका छन् भने निर्जीवन बिमा कम्पनीहरूले ६७ हजार २ सय ३८ वटा बिमालेख जारी गरेका छन् ।
जीवन बिमा व्यवसायमा १ प्रतिशत हिस्सा लघुबिमाको
जीवन बिमा कम्पनीहरूले आफ्नो कुल व्यवसायको जम्मा १ प्रतिशत मात्रै लघुबिमा गरेका छन् । समितिको तथ्यांकअनुसार गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीहरूले ४४ अर्ब ८७ करोड रुपैयाँबराबरको बिमाशुल्क आम्दानी गरेका छन् । जसमध्ये ४७ करोड ६७ लाख रुपैयाँ लघुबिमाबापत प्राप्त बिमाशुल्क हो । सो अवधिमा कम्पनीहरूले ५८ लाख १८ हजार ६ सय ५५ बिमालेख जारी गरेको समितिको तथ्यांक छ । जसमध्ये कम्पनीहरूले ६ लाख ७१ हजार १ सय ४४ लघुबिमा योजना जारी गरेका छन् । कुल जारी बिमालेखमध्ये लघुबिमालेखको हिस्सा ११ दशमलव ५३ प्रतिशत रहेको छ ।
निर्जीवन बिमा व्यवसायमा लघुबिमा हिस्सा १ प्रतिशतभन्दा कम
निर्जीवन बिमा कम्पनीहरूले आफ्नो कुल व्यवसाय १ प्रतिशत हिस्सा पनि लघुबिमा व्यवसाय गरेका छैनन् । समितिको तथ्यांकअनुसार गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीहरूको कुल व्यवसायको जम्मा शून्य दशमलव २७ प्रतिशत हिस्सा लघुबिमा योजना रहेको छ । सो अवधिमा कम्पनीहरूले ८६ अर्ब २ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । जसमध्ये लघुबिमाबापत २२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । चैत मसान्तसम्ममा कम्पनीहरूले १६ लाख ४७ हजार ८ सय १३ बिमालेख जारी गरेका छन् । जसमध्ये ६७ हजार २ सय ३८ लघुबिमा जारी भएको छ । कुल बिमालेख संख्या यो ४ प्रतिशत हो ।
लघुबिमामा मिसम्याच
जीवन बिमा कम्पनीहरूले जारी गरेको लघुबिमा लेखको हिस्सा करिब ११ प्रतिशत पुगे पनि व्यवसायको हिस्सा भने न्यून छ । जीवन बिमा कम्पनीहरूमध्ये मेट लाइफ, सूर्या लाइफ र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको जारी लघुबिमालेखको हिस्सा अधिक छ । तथ्यांकअनुसार गत आवको तेस्रो त्रैमास अवधिसम्ममा मेटलाइफको जारी लघुबिमालेखको हिस्सा ४७ प्रतिशत छ । तर, लघुबिमा व्यवसायको हिस्सा भने ८ दशमलव ६० प्रतिशत छ । प्रभु लाइफको ६२ प्रतिशत छ भने लघुबिमा व्यवसाय हिस्सा करिब ३ प्रतिशत मात्रै छ । सूर्या लाइफको जारी लघुबिमा योजनाको हिस्सा २६ प्रतिशत छ भने लघुबिमा व्यवसायको हिस्सा जम्मा ४ दशमलव ४२ प्रतिशत मात्रै छ ।
बिमा समितिले न्यून बिमांकको लघुबिमालेख निर्माण गरेको छ । तर, बिमा कम्पनीहरूले थोरै बिमांक भएका सबै बिमालेखलाई लघुबिमामा गणना गरेका छन् । जसका कारण केही कम्पनीहरूमा लघुबिमाको हिस्सा अधिक देखिएको कम्पनी स्रोतले बताएको छ ।
अलमलमा बिमा समिति
अर्थ मन्त्रालये आर्थिक वर्ष ०७५/७६ मा पेस गरेको बजेटको १९८ बुँदामा सबै बिमा कम्पनीहरूले कुल बिमा कारोबारमध्ये कम्ती १० प्रतिशत लघुबिमा गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार कम्पनीले चालू आवमा लघुबिमा व्यवसाय १० प्रतिशत पुर्याउनुपर्छ । समितिको तथ्यांकअनुसार मन्त्रालयले निर्देशन दिएको एक वर्ष पूरा भइसक्दा पनि कम्पनीहरूले लघुबिमा व्यवसाय दुई प्रतिशत पनि पुर्याउन सकेका छैनन् । तर, बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने कम्पनीले १० प्रतिशत लघुबिमा पोलिसी जारी गरेको बताए । उनले मन्त्रालयले लघुबिमा पोलिसी हिस्सा १० प्रतिशत पुर्याउन निर्देशन दिएको दाबी गरे ।
त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भने लघुबिमा व्यवसायप्रति कम्पनीहरू सकारात्मक भएको बताए । तर, कुल बिमालाई लघुबिमा भन्ने विषयमा स्पष्ट नभएको उनको भनाइ छ । ‘थोरै बिमांक रकम भएको बिमालाई लघुबिमा भनिन्छ । तर, कम्पनीहरूले जारी गरेका थुप्रै बिमाहरू कम रकमका छन्,’ उनले भने । यस विषयमा स्पष्ट हुनु आवश्यक रहेको समेत उनले बताए ।
नयाँ प्रत्रिका दैनिकबाट




