July 16th, 2019

सहकारीमा दोहोरो सदस्यता हटाउन निर्देशन, २०७७ सम्मको अल्टिमेटम

बैंकिङ खबर । सहकारीमा रहेको दोहोरो सदस्यता हटाउन सहकारी विभागले निर्देशन दिएको छ । सहकारी ऐनले कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था गरेसँगै विभागले दोहोरो सदस्यता हटाउनका निर्देशन दिँदै सूचना जारी गरेको हो ।

के छ ऐनमा व्यवस्था ?
२०७४ कात्तिक १ गतेदेखि लागू भएको सहकारी ऐन—२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था छ । यसैगरी ऐन प्रारम्भ हुनुअघि नै एक भन्दा बढी संस्थाको सदस्य रहेका व्यक्तिले ऐन लागू भएको तीन वर्ष अर्थात २०७७ असोजभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्नेछ । निर्देशनअनुसार सदस्यता कायम नगर्ने संस्थालाई कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।

केही समयअघि विभागले गरेको अध्ययनमा ४५ प्रतिशतले दोहोरो सदस्यता लिएको पाइएको थियो । विभागको तथ्यांकअनुसार ०७४ फागुनसम्ममा दर्ता भएका ३३ हजार ७३७ सय सहकारीमा ६५ लाख सर्वसाधारण आबद्ध छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]